भक्तपुर । विनायक शिक्षा निकेतनमा विनायक म्याथ क्लबद्वारा आयोजित पाई डे (Pi Day) को अवसरमा Pi Recitation प्रतियोगिता तथा सुडोकु प्रतियोगिता सम्पन्न भएको छ । गणितको महत्वपूर्ण स्थिराङ्क पाई (π ≈ ३.१४१५९) को महत्व दर्शाउन आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा गणितप्रतिको रुचि र लगावमा थप प्रोत्साहन बढाएको छ ।
Pi Recitation प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूमा पहिलो कक्षा ७ का तुलज प्रजापति दोस्रो कक्षा ९ की अमृता गोले र तेस्रो कक्षा ७ की षष्ठिका बरूवाल हुन सफल भए । त्यसै गरी सुडोकु प्रतियोगितामा पहिलो कक्षा ९ की सुजिना कुम्पाख, दोस्रो कक्षा ९ कै कृषा प्रजापति हुन सफल भएका थिए ।
कार्यक्रममा अतिरिक्त गणित शिक्षक श्री नरेन्द्र प्रजापतिले पाईको महत्वबारे प्रेरणादायी मन्तव्य दिदै भने, “पाई अंक गणितीय कौशल मात्र होइन, ज्ञानको अनन्तता र अनुसन्धानको उत्साहको प्रतीक हो ।”
विद्यालय इञ्चार्ज शैलेन्द्र भट्टराईले पनि कार्यक्रमको प्रशंसा गर्दै यस्ता गतिविधिहरूले विद्यार्थीको बौद्धिक क्षमता उजागर गर्न मद्दत गर्ने बताएको कार्यक्रमको सञ्चालन कक्षा ९ की टिका मगर र अनुष्का श्रेष्ठले प्रभावशाली ढंगले गरेको थियो ।
समापन समारोहमा उप–प्राचार्य प्रेम प्रसाद निरौलाज्यूले विजेताहरूलाई ट्रफी वितरण गरेको थियो भने उनले पाईको प्रयोग विज्ञान, प्रविधि, इन्जिनियरिङ, र गणनामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । विनायक म्याथ्स क्लबले आगामी दिनमा पनि यस्ता बौद्धिक कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।