भक्तपुर । आमाबुबा दुवै नभएका अनाथ बालबालिकाहरु मात्रै पढ्ने भक्तपुरको एउटा स्कुलका ससाना स्कुले बालबालिकाहरुलाई एउटा परिवारका ससाना दुई दाजु बहिनीले मंगलबार सहयोग गरेका छन् । भक्तपुर नगरपालिका वडा नं ३ दरवार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत २३ जना बालबालिकाहरुलाई कक्षा ७ मा पढ्ने लक्ष्यजीत र कक्षा ५ मा पढ्ने समृद्धि मल्लले शैक्षिक सामाग्री सहयोग दिएका हुन् । बालबालिहरुलाई अध्ययनका लागि आवश्यक किताब कापी राख्ने झोला, कापी, कलम, पेन्सिल, कटर, पोशाक, जुता, मोजालगायतका लताकपडा तथा नगदसमेत उनीहरुले सहयोग गरेका हुन् ।
स्कुलकी प्रिन्सिपल न्हुछेंलक्ष्मी गोराका अनुसार स्कुलमा नर्सरी, केजी र कक्षा १ गरी तीन वटा कक्षाहरु सञ्चालित छन् । यी तीन वटा कक्षाहरुमध्ये नर्सरीमा ५ जना, केजीमा ७ जना र कक्षा १ मा ११ जना गरी स्कुलमा कुल २३ जना विद्यार्थीहरु अध्ययनरत छन् । तर ती सवै विद्यार्थीहरु आमाबुबा दुवै नभएका अनाथ हुन् । उनीहरु सवैलाई नै सामाग्रीहरु हस्तान्तरण गरिएको हो । उनीहरु सवैजना स्कुलमै खाने, वस्ने र सुत्ने गर्दछन् ।
दाता भाइबहिनी लक्ष्यजीत र समृद्धिले नै एकएक जना विद्यार्थीहरु गरेर सवैलाई लहरै राखेर सामानहरु हस्तान्नरण गरेका थिए । त्यस अवसरमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोरा प्रमुख अतिथि भएर स्कुल पुगेका थिए ।
काठमाडौंको काँंडाघारीमा कक्षा ५ मा अध्ययनरत सानो नानी समृद्धिले दानको महत्व बुझेकाले आफू भन्दा साना स्कुले छात्रछात्राहरुलाई सहयोग गरेको बताइन् । यसका लागि आफूहरुको आमाबुबाहरुले सामानहरु उपलव्ध गराएको जानकारी उनले गराइन् । पहिला उनीहरुका हजुरआमा स्वर्गीय त्यही स्कुलकी प्रिन्सिपल लोचनाकुमारी मल्लको स्मृतिमा सहयोग गरेको समृद्धिले बताइन् । उनका अनुसार यसअघि पनि उनीहरुले अरु स्कुलहरुमा पनि यस्तै सहयोग गरिसकेका छन् । समृद्धिका दाजु लक्ष्यजीतले आफू भन्दा कमजोरहरुलाई सहयोग गर्न पाएको खुशी लागेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि स्कुल व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण गोराले ससाना नानीबाबुहरुले आफू भन्दा साना नानीबाबुहरुलाई गरेको यो सहयोग अविष्मरणीय रहेको बताए । यसले ससाना अनाथ नानीबाबुहरुको पढाइमा सहयोग हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जनाइए अनुसार बालबालिकाहरुका खान, लाउनका लागि व्यवस्थापन बाल मन्दिरले गर्दै आएको छ । त्यसका लागि एकजना भान्छे र दुईजना सहयोगी गरी तीन जना व्यक्ति खटाइएको छ । स्कुलमा भने प्रधानाध्यापिकासहित दुईजना दृष्टिविहीन शिक्षकशिक्षिकासहित तीन जना शिक्षकशिक्षिकाहरु रहेका छन् । उनीहरुलाई भने नेपाल सरकारले नै शिक्षकका रुपमा पारिश्रमिकको व्यवस्था गर्दै आएको छ ।
सवैले किताव कापी राख्ने झोलालगायतका विभिन्न सामानहरु पाएपछि ससाना अनाथ बालबालिकाहरु खुशी देखिएका थिए । कार्यक्रमको संयोजन प्रेमध्वज मोक्तानले गरेका थिए ।