बिस्का जात्राको तयारी सम्वन्धी बैठक सम्पन्न

0



भक्तपुर । भक्तपुरमा मनाइने एतिहासिक बिस्का जात्रा सभ्य, भव्य र मर्यादित रुपमा सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बस्यो ।

बैठकमा प्रमुख प्रजापतिले २०८१÷८२ को बिस्का जात्रा निर्धारित समयमा व्यवस्थित ढंगले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले बिस्का जात्रा सञ्चालन र व्यवस्थापनबारे भक्तपुर नपाको तयारीबारे जानकारी गराए । उनले २०८१ चैत्र २८ गतेदेखि २०८२ वैशाख ५ गतेसम्म सञ्चालन हुने ८ रात ९ दिनको बिस्का जात्रा सांस्कृतिक नगरको गौरव गर्न लायक जात्रा भएको बताउँदै उक्त जात्रा निर्धारित समयमै सुरु गरी समयमै सम्पन्न गर्न जोड दिए ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले भक्तपुरको ऐतिहासिक बिस्का जात्रा स्थानीय जनताको वैभव र पहिचानको विषय भएको बताउँदै गुठी संस्थानको तालिकाअनुसार जात्रा समयमै सम्पन्न गर्न सबैबाट सहयोग हुने विश्वास व्यक्त गरे । उनले बिस्का जात्राको मर्यादा अक्षुन्न राख्दै स्थानीय समुदायले नै मनाउने भएकोले कसैले उच्छृङ्खलता प्रदर्शन गरे कानुन बमोजिम कारवाही गरिने बताए ।

बैठकमा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले गुठी संस्थान कार्यालयले बिस्का जात्राबारे गुठी संस्थानको हालसम्मको तयारीबारे जानकारी गराउँदै संस्थानले बिस्का जात्रा सञ्चालनबारे तालिका सार्वजनिक गरेको र सोही तालिकाअनुसार जात्रा सञ्चालन भए जात्रा मर्यादित तथा व्यवस्थित रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छें र वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले जात्रा सञ्चालन हुने बाटोमा सरसफाई र सचेतना कार्यक्रमहरु हुने बताउँदै जात्रामा उच्छृङ्खल गतिविधि गर्नेहरुलाई आवश्यक कारबाही हुनुपर्ने बताए । बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, अस्पतालका प्रतिनिधि र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने बिस्का जात्रा व्यवस्थापनबारे सहभागीहरुले आ–आफ्नो तयारीबारे बैठकमा जानकारी गराएको थियो ।

बैठकका निर्णयहरु यस प्रकार छन् ः

१. भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक विस्का जात्रा मर्यादित र भव्य रुपमा सम्पन्न गर्न सरोकारवाला संघ संस्थाहरुबाट हालसम्म भए गरेका तयारी बारे छलफल गरियो ।

२. बिस्का जात्रा मर्यादित र भव्य रुपमा सम्पन्न गर्न गुठी संस्थान भक्तपुरबाट तयार पारेको कार्य तालिका अनुसार मिति २०८१ चैत्र २८ गते दिनको ३ः०० बजे भैरवनाथको रथ तानी जात्रा शुरु गर्ने र साँझ ५ः०० बजे सम्पन्न गर्न सम्बन्धित सबैले आ—आफ्नो जिम्मवारीका पूजा—आजा, भजनलगायत सम्पूर्ण गतिविधि समयमै सम्पन्न गर्ने ।

३. बिस्का जात्रा व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न मिति २०८१ चैत्र २८ गते र मिति २०८२ बैशाख ५ गते भैरवनाथको रथ पूर्वमा सुकुलढोकासम्म र पश्चिममा नासमना(बुलबुल हिटी) सम्म मात्र लान सम्पूर्ण जनसमुदायमा अनुरोध गर्ने ।

४. बिस्का जात्रालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न जनसमुदायमा अनुरोध गर्दै भक्तपुर नगरपालिकाबाट बिस्काजात्रा सम्बन्धी पर्चा वितरण गर्ने ।

५. भक्तपुरको प्रसिद्ध बिस्का जात्रा र नयाँ वर्ष २०८२ सम्बन्धी शुभकामना ¥याली र सभा देहायको मिति, समय र स्थानमा गर्ने ः

मितिः २०८१ चैत्र २८ गते, ¥यालि शुरु हुने स्थान ः भ.न.पा ९, दत्तात्रय, समयः बिहान ७ः०० बजे र सभा हुने स्थानः भ.न.पा ५, टौमढी रहेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top