काठमाडौं । नेवा समुदायले आफूहरू निरंकुश राजतन्त्रको पक्षमा नरहेको प्रस्ट पारेको छ । ‘नेवाः एकता जिन्दाबाद, आदिवासी अधिकार जिन्दावाद’को नारा घन्काएर नेवाः अभियन्ताहरुले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रका निमित्त नेवाः समुदायबाट संयुक्त अपीलसमेत जारी गरिएको छ ।
बुधबार साँझ काठमाण्डौंको नेपाः ब्यांक्वेटमा भएको नेवाः अभियन्ताहरुको संयुक्त भेलाले यसरी संयुक्त अपील जारी गरेको हो । संयुक्त अपीलमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएको कुरा प्रस्तुत गर्दै पुरानो सामन्ती राजतन्त्रात्मक निरंकुश व्यवस्थाले देशको यस विविधतालाई मेटाएर नेवारका साथै अन्य जातजाति तथा उत्पीडित समुदायहरुलाई भाषिक, सामाजिक, सांस्कृतिक र आर्थिक रुपले दमन गर्ने कार्य गरिएको यथार्थ कसैले पनि बिर्सिएको छैन भनी उल्लेख गरिएको छ । त्यसै गरी, उक्त व्यवस्थाको विरुद्ध नेवारका साथै सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, मधेशी, दलित, थारु महिला र उत्पीडनमा परेका समुदायको सहभागितामा वि.सं. २०६२÷०६३ मा भएको दोस्रो जनआन्दोलनले नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरेपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको कुरा पनि अपिलमा उल्लेख गरिएको छ ।
त्यसै गरी, ‘आन्दोलनपछि आएको नयाँ संविधानमा यस प्रकारको व्यवस्था भएको भए पनि उत्पीडित समुदायको भाषिक, सांस्कृतिक आदिभूमिमा स्वशासनका साथै पहिचानसँग सम्बन्धित मागहरु भने पूरा हुन बाँकी नै छ । यसका निमित्त समुदायको संघर्ष अझै अघि बढिरहेको छ ।’ उक्त संयुक्त अपीलमा उल्लेख गरिएको छ ।
सार्वजनिक भएको उक्त संयुक्त अपीलमा– यस समयमा जनतामा रहेको यस प्रकारको असन्तुष्टिमा खेलेर केही समय अघिदेखि संघीयताको खारेजी, राजतन्त्र र हिन्दू राष्ट्रको पुनस्र्थापनाको माग राखी प्रतिगामी शक्तिहरु सक्रिय हुन खोजिरहेको छ भन्दै लामो संघर्ष पछि स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको विरोधमा हुने यस प्रकारको क्रियाकलाप नेवार समुदायलाई कुनै पनि हालतमा स्वीकार्य नहुने भनी उल्लेख गरिएको छ ।
प्रकाशित संयुक्त अपीलमा– आफ्ना कुत्सित मनसाय पूरा गर्न यस तत्त्वहरुले अगाडि आइरहेको नेवाः समुदायको जात्रा पर्वमा मर्यादाहीन क्रियाकलाप गर्ने सक्ने कुरालाई ध्यानमा राखी यस प्रकारको काम कसैले पनि नगर्न खबरदारी गर्दै जात्रा पर्वको महत्व र मौलिकता जीवन्त राख्न नेवाः समुदाय प्रतिवद्ध रहेको कुरा बताउन चाहन्छौं । साथै, यस प्रकारको क्रियाकलापको नियन्त्रण गर्न, र संघीयता, धर्म निरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समाजलाई सबल बनाउनका लागि राष्ट्रिय संकल्प पूरा गरी नेवारका साथै सम्पूर्ण जनताका असन्तोषलाई इमान्दार भएर सम्बोधन गर्न राज्यसत्ता र सम्पूर्ण राजनैतिक दलहरुलाई पनि अपील गर्दछौं भनी उल्लेख गरिएको छ ।
संयुक्त अपीलमा– नेवाः अभियन्ताहरु हितकर वीरसिंह कंसाकार, मल्ल के. सुन्दर, राजेन्द्र प्रसाद श्रेष्ठ, प्रा. डा. नरेशमान वज्राचार्य, भीमसेनदास प्रधान, डा. पुष्पराज राजकर्णिकार, मुक्ति प्रधान, नरेशकुमार ताम्रकार, हिरालाल शाक्य, दिलीप महर्जन, राजभाई जकःमि, विद्यासुन्दर शाक्य, गोर्की श्रेष्ठ, सत्यनारायण डंगोल, रविन्द्र श्रेष्ठ, अनुप सिं सुवाल, चिनियाँ बज्राचार्य, धर्म महर्जन, सूर्यबहादुर श्रेष्ठ, मचाराजा महर्जन, राजा शाक्य, शोभा महर्जन बज्राचार्य, प्रविण कुमार महर्जन, उमेश स्थापित, जीवनराम श्रेष्ठ, वीरप्रसाद भन्सारी, सरिता डंगोल, कायबहादुर नेपाली व्यञ्जनकार, पवित्र बज्राचार्य, रविन्द्र प्रसाद श्रेष्ठ, सानुराजा बज्राचार्य, सुरेश किरण मानन्धर, रामेश्वर श्रेष्ठ, सुजीव बज्राचार्य सहितले हस्ताक्षर रहेका छन् ।
बुधबार भएको उक्त भेलाले सम्पूर्ण नेवारहरुलाई समेटेर गणतन्त्रको पक्षमा विविध कार्यक्रम अघि बढाउनका निमित्त आवस्यक तयारी गर्ने सरसल्लाह पनि गरिएको छ ।