सात गाउँले जात्रा र विविध दृष्टिकोण

0

 

                                                                                                    Photo: JOJAN PHOTOGRAPHY

भौगोलिक अवस्थिति ः

काठमाडौंको दक्षिणपश्चिममा रहेका सात गाउँहरु पाँगा, नगाउँ, कीर्तिपुर, बोसीगाउँ, सतुङगल, ल्वँकोट र मच्छेगाउँमा मनाइने जात्रालाई सातगाउँले जात्राको रुपमा लिने गरिन्छ । आजभोलि जनसंख्याको वृद्धिसँगै थप नयाँ बसोवासले अन्य गाउँहरुसमेत यस जात्रामा आवद्ध भैसकेको स्थिति छ र जात्रा गर्ने परम्परामा क्रमिक रुपमा परिवर्तन पनि आइरहेको छ । यसले गर्दा सात गाउँले जात्रा अब साविक भन्दा बढी गाउँहरुमा मनाउने गरिन्छ । कीर्तिपुर नगरपालिका बनिसकेपछि पाँगा, नगाउँ र कीर्तिपुर तीन गाउँहरु नगरपालिकाभित्र रहेका छन् भने अन्य गाउँहरु पनि चन्द्रागिरी नगरपालिका अन्तर्गत पर्दछन् । विशेषगरी सात गाउँले जात्राको सम्बन्ध तीनथानाको बखु अर्थात बल्खु खोला नजिक रहेको पीठसँग छ ।

किंवदन्तीः

पौराणिक किंवदन्ती अनुसार काठमाडौंमा भएको होम यज्ञबाट छुटेर उड्दै आएका एकजोडी परेवा कीर्तिपुरको पश्चिमपट्टिको बखु पीठमा आएर अन्त्य भएको हुनाले तिनै परेवाको अन्त्यको हिसाबले नेपालभाषामा बखुमद अर्थात परेवाको दाहसंस्कार (अन्त्य) भयो भन्ने अर्थमा लिइन्छ । नेपालभाषामा परेवालाई बखु र अन्त्यलाई मन्त भनिन्छ । यस अर्थमा बखुमन्त अपभ्रंस भएर बखु मरः वा बखु मलः भएको मानिन्छ । तालपत्रको आधारमा कुरा गर्दा बखुमरःको अर्थ हुन्छ, खोला किनारको जात्रा । यहाँ बखुको अर्थ खोला किनार र मरःयाको अर्थ जात्रा हो । मुःया, सिन्ह्याको रुपमा मनाइने यस सात गाउँले जात्रालाई वैदिक तान्त्रिक पँजासँग जोड्ने हो भने अष्टमात्रिकाको जयजयकारको रुपमा लिन सकिन्छ । रुद्रायणी, ब्रम्हायणी, माहेस्वरी, वैष्णवी, महालक्ष्मी, इन्द्रायणी, कौमारी र सरस्वतीलाई अष्टमात्रिकाको रुपमा पूजा गर्ने गरिन्छ । यसैगरी भोजको सिलसिलामा गणपूजा गर्ने चलन पनि छ । गणेश, गंगा, काली, सिघिनी र व्याघिनीजस्ता पंचतत्वको प्रतीकका रुपमा अदुवा, बारा, खेपी, चपी, हिंला र पँला राख्ने गरिन्छ । 

जात्राः

सात गाउँले जात्रा खास गरेर अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइने गरिन्छ । पूर्वजको भनाइ अनुसार कीर्तिपुरको पूर्व खोकना, दक्षिणकाली, क्वार (हाल) बाट शुरु हुँदै आउने जात्राको क्रम सात गाउँले जात्राको रुपमा विशेषगरी कीर्तिपुरमा नगाउँ, पाँगा र कीर्तिपुर गरी सातभन्दा बढी गाउँहरुमा सम्पन्न गर्ने गरिन्छ । नेवार बस्तीमा सम्पन्न गरिने यो जात्रा मल्लकालदेखि शुरु भएको विश्वास गरिन्छ ।

नगाउँमा माटोको भाँडो समाई काम्ने जात्राः

कीर्तिपुर र पाँगाबीच अवस्थित सानो गाउँ नगाउँमा मनाइने जात्रा माटो भाँडो समाई काम्ने जात्रा हो । सप्तमीमा छोयलाभू (पोलेको छोयला खाई भोज) गरिसकेपछि औपचारिक रुपमा जात्रा शुरु भएको मानिन्छ र भोलिपल्ट अष्टमीको दिन लाछिमा 

राखेको बालकुमारीमा पूजाआजा गर्ने गरिन्छ । बेलुकीपखः बाजागाजाका साथ खटमा राखी बालकुमारीलाई पीठमा पु¥याइन्छ र राती बलिकासाथ विधिपूर्वक होमयज्ञ गरिन्छ । हरेक वर्ष यो जात्रामा एकपटकमा ५ जना गुठियारहरुलाई पंच तत्वको प्रति

कारात्मक रक्सी, दूध, रगत, दही र जल राखेको भाँडो समाउन लगाइन्छ । यसरी भाँडो समाएकाहरुलाई बन्धन धागोले चक्र बनाई गुभाजुले विभिन्न मन्त्रवाचन गरेपछि विस्तारै विस्तारै तिनीहरु भाँडोसहित काम्न थाल्छन् । मध्यराती गरिने यो जात्रा जाडोका कारण कामेको हो वा मन्त्रको कारण कामेको सोध गर्न बाँकी नै छ । गुभाजुले जब उनीहरुको हातको भाँडो लिने र धागोको बन्धनबाट छुट्टयाउँछ, नकाम्ने विश्वास गरिन्छ । अचम्मको कुरा त यो छ कि दूधको भाँडो बोक्ने एकजना मात्र काम्दैनन् । भोलिपल्ट पूजाआजा गरिसकेपछि बेलुकीपख बालकुमारीलाई बाजागाजासहित पुनः आफनै ठाउँमा ल्याउने गरिन्छ र सवैमिलेर पंक्तिभोजमा सामेल हुन्छ । दशमीको दिन भने गुठियारहरुवीच निर्णय गर्नुपर्ने कुरामा छलफल गर्ने र नयाँ सदस्यहरु थप्ने कार्यमा व्यस्त हुन्छन् ।

पाँगामा विष्णुदेवी र बालकुमारी जात्राः

पाँगा साविक विष्णुदेवी र बालकुमारी दुई गाविसहरु मिलाई बनेको गाउँ हो । हाल यो कीर्तिपुर नगरपालिकाका वडा नं. ९, १०, ११ र १२ वडाहरु अन्तर्गत पर्दछन् । जात्रा मनाउने सवालमा पाँगालगायत भत्केपाटी, लनगोल, इटागोल र भाजंगलसमेत यसै जात्रामा आवद्ध रही आएका छन् । जात्रा पीठसँग सम्वन्धित भएकोले जात्राको संचालन कार्यमा सना गुठी सक्रिय हुन्छन् । पाँगामा दुवाल गुठी १, महर्जन गुठी ३ (तः गुथि, चि गुथि र दे गुथि), खड्गी गुठी १ र कपाली गुठी १ रहेका छन् । स्थानीय जात्रा कार्यमा गुठिहरुको आ–आफनै खालको जिम्मेवारीहरु रहेका हुन्छन् । विशेषगरी मूर्ति सुरक्ष्ाँ व्यवस्थापनमा कपाली, जात्रा संचालनमा महर्जन गुठि, गणपूजामा दुवाल गुठि, बलिपूजामा खडगी गुठि सक्रिय रहदै आएका छन् । सप्तमी छोयलाभूको दिन बालकुमारी पीठ देउखेलमा मण्ड म्ये (सानो राँगो) बलि दिने र गुठिहरुले प्रसादस्वरुप मासु भाग लिने, त्यसलगतै पाँगा लाछि अवस्थित विष्णुदेवी र बालकुमारी मूर्तिलाई खटमा राखिन्छ र बालकुमारी खटलाई सोही दिन वाजागाजासहित देउखेलस्थित पीठमा लाने गरिन्छ र रातभरी आगोबाली जाग्राम बस्ने गरिन्छ । भोलिपल्ट अष्टमीको दिन दुवै खटमा विहानसवेरैदेखि पूजा आजा गरिन्छ र साँझपख विष्णुदेवी खटलाई पनि भाजंगलस्थित पीठमा बाजागाजासाथ पु¥याइन्छ । सोही राती श्रेष्ठहरुद्वारा गणपूजा गरिसकेपछि दुवै पीठबाट पाँगाको देफल्चामा कसैले चाल नपाउनेगरी विना आवाज ल्याइपु¥याइन्छ । विहान सवेरैदेखि उक्त ठाउँमा नवमीको दिन सिन्ह्याको रुपमा दर्शनार्थीहरुको भीड जम्मा हुन्छन् । गाउँभरीका विभिन्न समूहहरुको वाजागाजासहितको लामवद्ध पूजाआजा र गुन्जायमानले जात्राको रौनक बढाउँछ, यस दिन पनि बलि दिन चाहनेले बलि दिने गर्दछन् । करिव विहानको १२ बजेसम्ममा द्वारेपूजाको व्यवस्था हुन्छ, मतलब द्वारेपूजालाई अन्तिमपूजाको रुपमा मानिन्छ । त्यसपछि सो ठाउँबाट खट उठाई ढोकासीमा ल्याई पु¥याउने चलन छ । यसपछि खटलाई गाउँको विभिन्न टोलटोलमा घुमाइन्छ र अन्त्यमा लाछिमा साँझ मूर्तिवाहेक सम्पूर्ण सजावत विगार्ने काम हुन्छ । खटयात्राको समाप्ती हुन्छ ।

कीर्तिपुरको इन्द्रायणी र गणेश जात्राः

पाँगामा जस्तै सप्तमीको दिन छोयलाभू गरी अष्टमीको दिन कीर्तिपुर वडा नं. १ स्थित देवढोका पीठमा इन्द्रायणी र गणेशको खट लैजाने गरिन्छ । खटमा राखेको इन्द्रायणी र गणेशलाई विहानसवेरैदेखि पूजाआजा गरिसकेपछि सिन्हःयाको दिन बाजागाजासहित लस्करद्वारा टोल टोलमा घुमाइन्छ । हरेक साल गुठियारहरुको एकता र सक्रियताका कारण खटयात्रा बोक्ने जिम्मेवारी टोलटोलले वहन गर्दछन । परिणाम त कीर्तिपुरको विभिन्न टोल बाजागाजासहित परिक्रमा गर्न कुनै कठिनाइ हुँदैन ।

नैकाप, सतुङगलको खटयात्रा तथा बोसिगाउँ र मच्छेगाउँको भाँडोजात्राः

कीर्तिपुरको पश्चिमतिरको बल्खुखोला नजिक रहेको तीनथाना गाविसमा पर्ने दोभान पीठमा सात गाउँले जात्राको प्रतीकका रुपमा जात्रा संचालन हुन्छ । दशमीको दिन सिन्हयाको रुपमा अघिल्लो दिन आ–आफनो ठाउँबाट ल्याई पु¥याएका खट तथा भाँडाका मूर्तिलाई विधिपूर्वक पूजाआजापछि आ–आफनै गाउँमा फिर्ता लाने चलन छ । फिर्ता लगी आफनो ठाउँका टोलपरिक्रमापछि जात्रा समाप्त हुन्छ । बल्खुको जात्राको एउटा विशेषता के हो भने तालमा खटलाई नचाउने र आफूपनि सोही तालमा नाच्ने गरिन्छ । यसो गर्दा टाढा टाढाबाट हेर्न आउने दर्शकहरुको भीड बाक्लो पाइन्छ ।

धार्मिक दृष्टिकोणः

हिन्दुहरुका अनुसार अष्टमात्रिकालाई शक्ति पीठका रुपमा लिन सकिन्छ । मानव शरीरको सृष्टि पंचतत्वबाट बनेको कुरालाई हिन्दुहरु विश्वास गर्दछन् । आफनो शरीरलाई रोग र अन्य भयबाट मुक्त गरी जन्ममृत्युमा सन्तुलन होस, पाप, अकर्म जस्ता 

नराम्रा कार्यहरु नगरुन् र मानिस सबैको एउटै बाटो जन्मपछि मृत्यु अवश्यमभावी छ भन्ने कुरा बोध गराउनु जात्राको धार्मिक दृष्टिकोण रहेको छ ।

साँस्कृतिक दृष्टिकोणः

नेवार वस्तीमा कार्य व्यस्तका वावजुद पनि जीवनलाई सन्तुलन कार्यमा राख्न समय समयमा गरिने साँस्कृतिक पर्वको रुपमा जात्रालाई पनि लिइन्छ । विशेषगरी यो जात्रा जाडोको समयमा मानिन्छ । धान काट्ने र गहँु छर्ने कार्यको समाप्तीसँगै फुर्सदको समयमा मनाइने यो चाड कीर्तिपुरको ठूलो चाड मध्येमा पर्छ । गुठिलाई निरन्तरता दिनु र वर्षको एकचोटी हरहिसाबकिताव चुक्ता गर्नु यसको महत्वपूर्ण पक्ष्ँ हो । यो चाड संचालनको लागि आवश्यक बाजागाजाहरुको व्यवस्थापनमा संस्कृतिको ठूलो हात छ । इन्द्रबाजा बजाउनको लागि मात्र पनि गुठिले कार्यकर्ताको व्यवस्था गरेको छ । संस्कृतिको नाममा मात्र यसको निरन्तरता भैरहेको छ । व्यक्तिगत वा समूहगतमा हालसम्म कसैले पनि यसको संरक्षण गरेको देखिदैन । बाँसुरी र धिमेबाजाको निरन्तरता र विकास भने आवश्यक भन्दा बढी नै भैरहेको देखिन्छ ।

सामाजिक दृष्टिकोणः

समाजमा रहेका विभिन्न वर्गहरु विना भेदभाव एकै ठाउँमा पूजा आजा गरी आफनो जीवन विताउने र गुठि कार्य, सहयोगी भावना, खट बोक्ने, मित्रता गाँस्ने र नातेदारहरु बोलाई भोज खाने परम्पराले बलियो सामाजिक आधार बनाएकोछ ।

आर्थिक दृष्टिकोणः

हिजोआज चाडको नाममा धेरै खर्च गर्ने चलन बढेको छ । यसैले आर्थिक दृष्टिकोणले खर्चालु देखिन्छ तैपनि यस पर्वलाई महोत्सवको रुपमा संचालन गर्ने हो भने आर्थिक पक्ष्ँको सवल गर्ने तरिकाबारे सोच्नु जरुरी छ । स्थानीय चाडलाई आन्तरिक पर्यटनसँग जोडेर कार्य संचालन गर्ने हो भने आर्थिक लाभ पनि फलदायी नै हुनेछ ।

वातावरणीय दृष्टिकोणः

चाडपर्वको महत्व आफनै ठाउँमा हुन्छ । चाड पर्वको नाममा वातावरणमा हुने असन्तुलन कार्य जस्तै खानेकुराको खपत, ध्वनी प्रदुषण, जैविक तथा अजैविक वस्तुको खपत आदिलाई व्यवस्थापन गर्न सक्नुपर्दछ र सवैको कर्तव्य पनि हो ।

शारीरिक क्रियात्मक दृष्टिकोणः

चाडवाडको नाममा तयार गरिने विभिन्न किसिमका खानेकुरा सेवनले मानव स्वास्थ्यमा कतिको हानि गर्न सक्तछन् र शरीरलाई ती खानेकुराहरुले कति पोषण दिन सक्छन् भन्ने कुराको ख्याल गर्दै भोजको व्यवस्थापन गर्न सकेमा अझ फलदायी हुने देखिन्छ । सात गाउँले जात्राको विशेष परिकारको रुपमा मासुको झोल जमाउनु अर्थात थलथले, यो नेवारी खानाको विशेष प्रकार हो । यसवाहेक अन्य विभिन्न किसिमका खानेकुराहरुमा कार्वाेहाइड्रेट, प्रोटिन, बोसो चिल्लो, भिटामिन खनिज आदिबारे पनि ध्यान दिनु जरुरी हुन्छ । चाडमा सेवन गरिने अत्यधिक मध्यपानले त झन स्वास्थ्यमा नकारात्मक असर नै गर्छ । भारी खटलाई उठाउँदै सार्दै टोल परिक्रमा गर्दा गुठियारहरुको शारीरिक स्फूर्ति पनि त्यतिकै बढ्ने विश्वास गर्न सकिन्छ ।

मानवीय दृष्टिकोणः

सात गाउँले जात्राले मानवीय दृष्टिकोणको पहिचान दिन पनि मद्दत गर्छ । यो चाडमा गुठिद्वारा आयोजना गरिने भोजमा पुरुष र महिलाको समान सहभागिताले एकातिर समानताको अधिकारको वकालत गर्न सहयोग गरिरहेको छ भने अर्काेतिर बालबच्चादेखि बुढापाकासम्मको सहभागिताले कसैको मानवअधिकार हनन नभएको इंगित गर्दछ ।

लैगिंक दृष्टिकोणः

अष्टमात्रिकाको आराधनाले नारीशक्तिमाथि विस्वास गरेको ठहर्छ । प्राचीनकालमा नारीहरुको वाहुल्यता बढी भएको छ र नारी पनि एक शक्ति हो, संयम हो भन्ने कुरा यो चाडले स्पष्ट गरेको छ ।

वर्गिय दृष्टिकोणः

सातगाउँले जात्रालाई वर्गिय रुपमा हेर्दा अलिकति फरक पाउन सकिन्छ । विशेषगरी कामदार वर्गले हरेक साँस्कृतिक कार्यहरुलाई निरन्तरता दिएको देखिन्छ । साँस्कृतिक झमेलामा प्रँयःजसो टाठाबाठा फसेको देखिदैन । वरु उनीहरु मख्ख परेर आनन्द लुट्ने गर्दछन् ।

शारीरिक दृष्टिकोणः

जात्रामा बोकिने खट कुनै तौल उचाल्ने धावकको अभ्यास भन्दा कम हुँदैन । त्यसैले कामदार वर्गले खट बोक्नु भन्दा पनि जो वार्षिक वा प्रायः जसो सक्रिय जीवन विताउँदैन, त्यस्ता व्यक्तिले खटको तौल उचाल्ने र बोक्ने प्रयास गरेमा शारीरिक दृष्टिकोणले उ फुर्तिलो र स्वस्थ हुन मद्दत पुग्दछ ।

निश्कर्षः

कुनै पनि चाडपर्वलाई चाहे सात गाउँले जात्रा होस् या अन्य, मानव जीवनको एक भाग हो भन्ने कुरा विसर्नु हुँदैन । त्यसलाई एकपक्षिय दृष्टिकोणले ठिक बेठिक भन्नु भन्दा हरेक दृष्टिकोणले पहिचान गर्न खोजेमा अवश्य पनि फाइदा हुन्छ ।

–देवराज महर्जन


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top