मध्यपुर थिमि । वैज्ञानिक शिक्षा आजको आवश्यकताः शैक्षिक उत्कृष्टता विनायकको विशेषता मान्दै युगानुकूल, स्तरीय र वैज्ञानिक शिक्षा प्रदान गरी दक्ष, प्राविधिक र आत्मनिर्भर नागरिक निर्माण गर्न लागि परेको विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले मङ्सिर २१ गते रोबोटिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण सामग्रीहरूको प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ ।
विद्यार्थीहरुलाई विज्ञान र प्रविधिबारे परिचित गराउने तथा समाजमा परम्परादेखि प्रयोग गरिरहेका तर हाल लोपोन्मुख अवस्थामा रहेका पुरातात्विक मूल्य र मान्यता अनुसारका सामग्रीहरू प्रदर्शन गर्दै विद्यार्थीहरुलाई प्रयोगात्मक तथा जीवनपयोगी कुराहरू सिकाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले जानकारी दिए ।
कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु सहभागी भएको तथा विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले विज्ञान र प्रविधि प्रयोग गरी आफूले बनाएका २४ ओटा रोबोटिक प्रोजेक्ट तथा आफ्नो घरमा भएका पुरातात्विक दृष्टिले महत्त्वपूर्ण करिब २०० वटा प्राचीन सामग्रीहरू समेत प्रदर्शन गरी त्यसको वैज्ञानिक, प्राविधिक, ऐतिहासिक र पुरातात्विक महत्वका बारेमा प्रकाश पारेका थिए । विशेष गरेर मध्यपुर थिमिमा पहिलोपटक औपचारिक रूपमा रोबोटिक कक्षा सञ्चालन गरी रोबोटिक प्रदर्शनी गर्न सफल विद्यालय विनायक शिक्षा निकेतन बन्न सकेको कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको थियो ।