भक्तपुर । यही मंसिर २८ गतेदेखि पुस २ गते पाँंचदिन सम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ को क्रममा भक्तपुरको महेश्वरी खेल मैदानमा व्यापार मेला पनि हुने भएको छ । मेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर महोत्सव सुरु हुने दिन मंसिर २८ बाट नै मेला पनि सुरु हुने जनाइयो ।
पत्रकार सम्मेलनमा मेला आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुरका अध्यक्ष केशव त्वानाबासूले मेला भक्तपुर नगरपालिका वडा नं ७ महेश्वरीस्थित महेश्वरी खेल मैदानमा हुने जानकारी गराए । भक्तपुर महोत्सव अन्र्तगत मुख्य ३२ वटा विभिन्न स्थानमा प्रर्दशनी हुने र त्यसमध्ये भक्तपुर नगरपालिका वडा ७ महेश्वरी खेल मैदानमा व्यापार मेला पनि एक भएको उनले बताए ।
भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवं आयोजक भक्तपुर युवा टिमका सल्लाहकार उकेश कवांले सिंगो भक्तपुर महोत्सवको मुख्य आयोजक भक्तपुर नगरपालिका भए पनि उपयुक्तता अनि आवश्यकता अनुसार नगरपालिकाले विभिन्न संस्थाहरुलाई कामको जिम्मेबारी दिइएको जनाए । त्यस अनुसार महेश्वरी खेल मैदान भक्तपुर नगरपालिका वडा नं ७ मा परेकाले महेश्वरीमा हुने व्यापार मेलाको संयोजन वडास्थित भक्तपुर युवा टिम गोल्मढी भक्तपुरलाई दिएको उनले स्पष्ट पारे । त्यस अनुसार टिमले तयारी तीव्र पारेको उनले जनाए ।
मेलाको सम्पूर्ण खर्च र आम्दानी आयोजक टिम भक्तपुर युवा टिमले नै गर्ने जनाइएको छ । आयोजक टिमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवांले भक्तपुर युवा टिमले व्यापार मेला आयोजकको रुपमा जिम्मेवारी वहन गर्ने मौका पाएकोमा गर्वको महशुश गरे । उनले यसका लागि आवश्यक प्रक्रिया पूरा गरी सकिएको जानकारी पनि गराए ।
मेलास्थलमा केही दिन अगाडिबाट नै स्टल निर्माण लगायत अन्य कार्यको तयारी थालिसकेको छ । अहिले पनि त्यहाँं दैनिक धमाधम स्टलको लागि कामहरु भइरहेका छन् । आयोजक समितिका सचिव रामेश्वर मचामसीले व्यापार मेलामा झण्डै सय स्टल रहने र तीमध्ये ८० प्रतिशत स्टलहरु अगाडि नै बुकिङ भइसकेको जानकारी गराए । अब हामीसँंग सिमित सिट मात्रै बाँंकी छन्, उनले भने । स्टलको साइजअनुसार न्यून शुल्क लिएर व्यापारीहरुलाई स्टल उपलब्ध गराइने जानकारी उनले गराए । व्यापार मेलाको संयोजन भने केशव कवांले गरेका छन् ।
व्यापार मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टलहरु हुने छन् । त्यसैगरी महोत्सवमा विक्री हुने सामानहरु विशेष छुटमा हुने जनाइयो । मनोरञ्जनका लागि महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, मिकी माउस, ट्रेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय, अन्तराष्ट्रिय, स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहने जनाइयो । महोत्सवमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाका वासिन्दाहरुले समेत लाभ लिन सक्ने छन् ।
पत्रकार सम्मेलनको सहजिकरण आयोजक भक्तपुर युवा टिमका कार्यसमिति सदस्य सुरेश कवांले गरेका थिए । २०५४ सालपछि भक्तपुरले व्यापक रुपमा दोश्रो पटक भक्तपुर महोत्सव गर्न लागेको हो । महोत्सव अन्तर्गत भक्तपुर नगरपालिकाका वडा नं १ देखि १० सम्मकै टोलटोलहरु महोत्सवमय हुने जनाइएको छ । यसका लागि नगरका ३२ स्थानँहरुमा छुट्टाछ्ट्टै कार्यक्रम हुने जनाइएको छ ।