भक्तपुर । भोली पुस १२ बाट १४ गते ३ दिनसम्म मध्यपुर महोत्सव–२०८१ को आयोजना मध्यपुर थिमि नगरपालिकाले गर्दैछ, उक्त महोत्सवमा के के हेर्न पाइन्छ होला भन्ने जिज्ञासा सबैमा होला नै । महोत्सवका आकर्षण यस प्रकार हुने नगरपालिका स्रोतले बताएको छ ।
मध्यपुर थिमिलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले ‘मध्यपुर महोत्सव’को आयोजना गर्न लागिएको नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । २६ वर्ष पछि चौथो पटक आयोजना हुन लागिएको महोत्सवमा नगरका स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धन गरिने उनले जानकारी दिए । नगरका बालकुमारी चपाचो, नगदेश, बोदे र तिगनीमा गरी १०५ ठाउँमा घरेलु उत्पादनका सामानहरु राखिने पनि उनले जानकारी गराएका छन् ।
यस्तै महोत्सवमा विभिन्न २५ प्रकारका नाचहरु महोत्सवमा देखाइने र यहाँको माटाका भाँडा बनाउने कला प्रदर्शनी पनि विभिन्न ठाउँमा हुनेछ । थिमिको प्रवेशमार्गको रुपमा रहेको शंखधरचोकबाट सुरु हुने महोत्सवका विभिन्न कार्यक्रम र प्रदर्शनी बालकुमारी, चपाचो, नगदेश र बोडे हुँदै तिगनिको नीलबाराहीसम्मका ऐतिहासिक वस्तीसम्म लगभग ५ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा नगरका विभिन्न स्थानमा करिब ४ सय स्टल रहने छन् । महोत्सवमा विभिन्न २६ प्रकारका प्रदर्शनी राख्ने तयारी गरेको जनाइएको छ ।
यस्ता छन् महोत्सवका मुख्य आकर्षणहरु ः
१. उदघाटन समारोह र साँस्कृतिक एवम् गेडागुडी प्रदर्शनी
२. बौद्ध सम्पदा प्रदर्शनी तथा भतिमलि (इन्द्र अप्सरा) नाच
३. बिस भन्दा बढी प्रकारका नेवाः भ्वय् प्रदर्शनी
४. पुरातात्विक सम्पदा प्रदर्शनी
५. नौबाजा, गुंलाबाजा र अय्लाः बनाउने मौलिक प्रविधि प्रदर्शनी
६. स्थानीय उत्पादन प्रदर्शनी र साँस्कृतिक कार्यक्रम
७. जिब्रो छेड्ने जात्राको प्रतिमूर्ती तथा मृतिकाकला प्रदर्शनी
८. बौद्ध सँस्कृति प्रदर्शनी
९. घरबुना कपडा बुन्ने मौलिक प्रविधि प्रदर्शनी
१०. महाकाली, पुलुकिसि र सलचा प्याखं
११. मुर्तिकला र यस सम्बन्धी मौलिक प्रविधि प्रदर्शनी
१२. स्थानीय घरेलु उत्पादन तथा सम्पदाहरूको फोटो प्रदर्शनी
१३. बुद्ध अस्थिधातु तथा बुद्ध जीवनी प्रदर्शनी
१४. ख्वाःपाः (मुकुण्डो) बनाउने मौलिक प्रविधि प्रदर्शनी
१५. बिस्का जात्रामा जात्रा गरिने खत, पुलुकिसि र मल्लकालिन मुद्रा प्रदर्शनी
१६. नागचा र राजकुमार नाच प्रदर्शनी
१७. कृषि औजार प्रदर्शनी
१८. वापिज्या, महाकाली नाच, भेषभुषा र तामाङ्ग समुदायको प्रदर्शनी
१९. व्यापारिक प्रदर्शनी
२०. कृषि उत्पादन र मुर्तिकला प्रदर्शनी
२१. साँस्कृतिक प्रदर्शनी
२२. चित्रकला, छ्वाली कला प्रदर्शनी र समापन कार्यक्रम
२३. बिस्काजात्राको खत र जिब्रो छेड्ने जात्राको प्रतिमूर्ती प्रदर्शनी
२४. साँझ्या र नागाचा नाच प्रदर्शनी
२५. स्थानीय घरेलु उत्पादन प्रदर्शनी
२६. बिस्काजात्रा खत, तिकिंबजि बनाउने मौलिक प्रविधी प्रदर्शनी र धिन्ताधिसी प्रदर्शनी आदि रहेको छ ।