राष्ट्रिय विभुती शंखधर साख्वाको प्रतिमामा पुर्व प्रधानमन्त्री प्रचण्डद्वारा माल्यार्पण

0


काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल संवत् ११४५ को पूर्व संध्यामा मध्यपुर थिमि वडा नं ४ शंखधर चोकमा अवस्थित राष्ट्रिय विभुती शंखधर साख्वाको प्रतिमामा बिहीबार माल्यार्पण गरेका छन् ।

माल्र्यापण कार्यक्रम पछि नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताएका छन् । 

उनले नेपाल संवत् नेवाः समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा भएको बनाए । ‘नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर नेपाल मन्दलमा रहेका खासगरी काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले विगतदेखि निरन्तर आन्दोलन गर्दै आएको थियो । विभिन्न समयका सरकारहरुले त्यो आन्दोलनको एजेण्डा पूरा गर्नुको साटो दबाउन खोजेको गुनासो यो समुदायका अगुवाहरुबाट सुनिरहेको थिए– अध्यक्ष प्रचण्डले भने, ‘२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा मैले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्बाट निर्णय गराएको थिएँ, त्यसका लागि मलाई अहिले पनि गर्व लागिरहेको छ ।’

नेपाल संवतले राष्ट्रिय मान्यता पाएको लामो समयसम्म पनि यसको कार्यान्वयनमा अलमल भएको देखेर गत वर्ष आफू तेस्रोपटक प्रधानमन्त्री भएको बेला विक्रम संवत् प्रयोग हुने सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निर्णय मन्त्रिपरिषदबाटै गराएको उनले स्मरण गराए । उनले भने, ‘त्यति मात्र होइन, हाम्रो पार्टीले बागमती प्रदेश सरकारको नेतृत्व गरेको बेलामा प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ, यो पनि महत्वपूर्ण उपलब्धि हो ।’

शंखधर साख्वाले गरीब जनताको ऋण मोचन गर्ने काम गरेर पवित्र कार्य गरेपछि उहाँकै सम्मानमा नेपाल संवत् सुरु गरिएको प्रसंग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘२०६५ को एउटै मन्त्रिपरिषद बैठकबाट हामीले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने निर्णय मात्रै गरेनौं, शंखधर साख्वाले जस्तै हामीले पनि गरिब किसानहरुको निश्चित रकम ऋण मिनाहको निर्णय पनि गर्यौ ।’

आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला गरिब किसानको ऋण मिनाह, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्गलगायतका ठूला पूर्वाधारको सुरुवात गरेको स्मरण गर्दै दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपालको निर्माण हुँदै तेस्रोपटक प्रधानमन्त्री भएको बेलामा नेपाली इतिहासमै पहिलोपटक सरकारको अगुवाईमा भ्रष्टाचारविरुद्धको अभियान सुरु गरिएको बताए । हरेकपटक माओवादी नेतृत्वको सरकारले ऐतिहासिक कामको थालनी गरेको उल्लेख गर्दै उनले यसलाई जनताको बीचमा लैजान नसक्नु कमजोरीको रुपमा रहेको बताएका छन् ।

पछिल्लो समय आफ्नो नेतृत्वको सरकारले धेरै काम गर्न खोजेको देखेर सरकार ढालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारमा हुँदा सुरु गरिएको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अब पार्टीको मुख्य एजेण्डा हुने र २०८४ माओवादीको हुने बताए । सरकारबाट निस्केपछि आफूले एकपटक प्रदेश तहमा पुगेर जनताको अवस्था बुझ्ने प्रयास गरेको उल्लेख गर्दै उनले देशभरि जनताले माओवादी र प्रचण्डलाई माया गर्न थालेको दावी गरेका छन् ।

माओवादी केन्द्र मध्यपुर थिमी नगर अध्यक्ष एवं मध्यपुर नरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शशी श्रेष्ठ, केन्द्रीय सदस्यहरुले शुभकामना व्यक्त गरेका थिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top