थिमि भैलः २०८१ लाई सम्मान

0



भक्तपुर । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिक नाच मध्येको थिमि भैलःलाई प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्षेत्रमा ताहाननि टोलको भूमिकालाई मूल्यांकन गरी संस्थाले सम्मान गरेको बताइएको छ । संस्थाको १७ औं वार्षिक साधारणसभामा थिमि भैलः २०८१ व्यवस्थापन समितिका माइला प्रजापति तथा कलाकारहरु क्रमशः तृशल प्रजापति (ज्यापुंगः), अशोक प्रजापति (न्हापा भैलः), बाल मुकुन्द प्रजापति (लिपा भैलः), आयुष प्रजापति (न्हापा दागिं) र शाहील प्रजापति (लिपा दागिं)लाई कदरपत्रसहित सम्मान गरेको हो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरभित्र सञ्चालित सम्पूर्ण सहकारीलाई नगरपालिकाको सहकारी पुँजी संरक्षित कोष, न्यायाधिकरण र स्थिरीकोषमा आवद्ध हुन आह्वान गर्दै सहकारी क्षेत्रको विकृति र समस्यालाई सम्बोधन गर्न नगरपालिकाले सहकारी ऐन र नियमावली बनाएर काम गरिरहेको बताए ।

त्यस्तै, वडा नं. ८ का वडाध्यक्ष तथा सहकारी ऐन मस्यौदाकार रमेश थापाले स्थानिय स्तरमा सञ्चालित सहकारीमा मात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गर्दै ससाना पुँजीलाई चलायमान गर्न सहकारी संस्था काफी भएको बताउँदै वार्षिक रुपमा साधारणसभा गर्ने, हिसाब किताबलाई पारदर्शी ढंगले प्रस्तुत गर्ने तथा सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थालाई विश्वास गर्न सकिनेमा जोड दिए ।

कार्यक्रममा संस्थाको चुक्ता पुँजी १,४६,९७,८००।– रहेको वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा कोपोमिस सफ्टवेयरको अनलाइन प्रविधिमार्फत अद्यावधिक गरिंदै आएको समेत जानकारी दिइएको थियो । संस्थाको आर्थिक वर्ष २०८०÷८१ मा सेयर सदस्यहरु १५०३ जना रहेको अवगत गराइएको थियो ।

मध्यपुर थिमि नगरपालिका सहकारी शाखाबाट निर्देशन बमोजिम यो वर्ष पनि उद्घाटन तथा बन्द सत्र दुईथरी नगरी एउटै कार्यक्रममार्फत साधारणसभा सम्पन्न गरेको थियो । संस्थाका अध्यक्ष कृष्ण काजी मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अतिथिको रुपमा ८ का वडाध्यक्ष रमेश थापा, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, समाजसेवी न्हुछेरत्न मानन्धर, नेफ्स्कूनकी सुशीला पराजुली, सिवा सायमि खलःका अध्यक्ष मनोज लाल मानन्धर, केन्द्रीय मानन्धर संघका सहायक सचिव तुलसीकाजी मानन्धर तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

शिक्षा उपसमितिका सदस्य नरेन्द्र श्रेष्ठको संयोजनमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिका सदस्य कृष्ण सुन्दर प्रजापतिले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा महिला सदस्य मेनुका भासिमाले स्वागत मन्तव्य तथा पूर्वअध्यक्ष सुमन श्रेष्ठले धन्यवाद मन्तव्य दिएका थिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top