मध्यपुर थिमिमा म्य् प्वाः खनेगु जात्रा’ मनाईंदैं, पशुपतिसम्मको परिक्रमा गरिने

0



भक्तपुर । आश्विन शुक्ल पूर्णिमाका दिन आज बुधवार साँझ मध्यपुर थिमिमा म्य् प्वाः खनेगु (जिब्रो छेड्ने) जात्रा’ मनाईंदैछ । यस जात्राले गत वर्षको जस्र्तै पशुपति मन्दिरसम्म परिक्रमा गरि पुन बालकुमारी मन्दिर परिसरमा पुगी जात्रा समापन गरिने कार्यक्रम रहेको छ ।

तेस्रो पटक जिब्रो छेडाउन लागेका मध्यपुर थिमि–४ का विरेन्द्रभक्त श्रेष्ठको इच्छा अनुसार जात्राले यसवर्ष पनि पशुपति नाथको परिक्रमा गर्ने भएको हो । श्रेष्ठले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएर जात्रालाई पुनर्जिवित दिएको थियो । उनले दोस्रो पटक २०७९ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएको थियो ।

स्थानीय दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा जिब्रो छेडाएर शुरु हुने यो जात्रा परिक्रमा गर्ने निश्चित मार्ग तोकिएको छैन । जात्रामा जिब्रो छेड्ने व्यक्तिको टोलको इष्ट गणेशको दर्शन पछि उसको इच्छा अनुसारको स्थानमा परिक्रमा गराउने गरिन्छ ।

यसै विशेषता अनुसार गतवर्ष जिब्रो छेडाएका बालकराम श्रेष्ठको इच्छा अनुसार पशुपति नाथको परिक्रमा गराईएको थियो । यो जात्राको इतिहास अनुसार भक्तपुरको चाँगुनारायणसम्म परिक्रमा गरेको पाईन्छ । यसवर्ष दिगुटोलमा जिब्रो छेडाएपछि निगु पुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी) स्थित थास्मा गणेशको दर्शन गराईने छ । 

थास्मा गणेशको दर्शनपछि तछु टोल (गाँतले), सुँगा टोल (विष्णुवीर), ईन्द्रायणी, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामंगल, खहरेचोक, एअरपोर्ट पछाडिको बाटो हुँदैं गुह्ेश्वरी मन्दिरबाट पशुपतिको दर्शन गर्ने मार्ग तय गरिएको छ ।

यसैगरी सोही मार्ग भएर फर्कने क्रममा सानोथिमिस्थित तिनधारा व्यारेक चोकबाट भित्र हुँदैं नगदेश, गार्चा चोक, बहाखाबजार भिमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी) मन्दिर परिसर पुगेर जिब्रोबाट नातु निकालेर जिब्रोमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ । अनि नातुलाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । त्यसपछि जिब्रो छेडाउने व्यक्ति घर पुगेर मान्यजनबाट सगुन लिन्छ । जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पुजा गर्न जानुपर्ने प्रचलन रहेको छ ।

जात्राको परम्परा अनुसार जिब्रो छेडाउने व्यक्तिले एक महिना अघि नकर्मीलाई नातु बनाउन आग्रह गर्नुपर्छ, त्यसका लागि जिब्रो छेडाउने व्यक्तिले पुजा सामग्रीका साथ समय् बजी र एउटा रातो भाले लिएर नकर्मीको घरमा जानुपर्छ । जिब्रो छेडाउने व्यक्तिको आग्रह अनुसार नकर्मीले नातु तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्ने प्रचलन रहेको छ । यसरी राखेको सियोले जिब्रो छेड्दा रगत नआउने जनविश्वास रहेको छ ।

जात्राको लागि आठ दिन अगाडि द्यः दुसालेगु चलन छ । त्यसको लागि बालकुमारी मन्दिरमा एघार वटा किसली (प्यालामा चामल सुपारी र सिक्का राखेको) चढाउनु पर्दछ र रातोभालेको वलि दिएर बालकुमारीको साधना गर्नुपर्दछ । जिब्रो छेड्ने जात्राको चारदिन अघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलन समेत रहेको छ । ईन्द्रजात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजागरि छ्वयला भू खुवाउने चलन  छ । त्यसको भालिपल्ट येंया पुन्हीको दिनमा दुता लं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने र यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारी देखि दिगुलीस्थित दिगुभैरव स्थानमा बत्ति दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईन्छ ।

डवलीमा नकर्मीले बनाएको करिव १० इन्च लामो नातुबाट कर्मी नायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं (महादिप) बोक्न लगाई उसको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ ।

यसरी जात्रा गर्नाले मध्यपुर थिमि क्षेत्रमा भुतप्रेतहरुले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई नातुले जिव्रो छेडाएर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।

मध्यपुर थिमिमा वर्षेनी दुई वटा म्य् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) सञ्चालन हुने गरेको छ । पहिलो बिस्काः जात्राको अवसरमा बैशाख २ गते दिउँसो थिमिको बोदेमा र दोस्रो ईन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पुर्णिमाको साँझ थिमिको दिगुटोलमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top