मध्यपुर थिमि । विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा यही वैशाख २९ गते अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो । विद्यालय, अभिभावक र विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूको त्रिकोणात्मक सम्बन्धले मात्र विद्यार्थीहरुलाई सफल र प्रभावकारी शिक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरालाई मनन गरी विद्यालयको सिनियर केजीका अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
संस्थापक प्रिन्सिपल सुरेन्द्रबिक्रम प्रजापतिको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, शैक्षिक संयोजक शैलेन्द्र भट्टराईले प्रभावकारी युग सुहाउँदो शिक्षणका लागि अभिभावकको भूमिका र विद्यालयका विविध शैक्षिक गतिविधि बारेमा चर्चा गरेको थियो ।
संयोजक तथा शिक्षिका पदमकेशरी श्रेष्ठले साङ्गीतिक शैलीमा परिचयात्मक कार्यक्रम गरी सुरु गरेको उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल प्रजापतिले आजको समयमा परम्परागत शिक्षण पद्धतिलाई हटाएर प्रगतिशील सोचको रूपान्तरित शिक्षण पद्धतिमा जोड दिनुपर्ने, सभ्यता र संस्कारका कुराहरूमा अभिभावकहरूले पनि जोड दिँदै आफ्ना नानीहरूको सर्वाङ्गिण विकासमा टेवा पुर्याउनुपर्ने, व्यावहारिक र जीवनउपयोगी तथा समयसापेक्ष आत्मनिर्भर बन्न सहयोग गर्ने शिक्षा प्रदान गर्न सबै क्षेत्रबाट पहल गर्नुपर्ने धारणा व्यक्त गरे । प्रयोगात्मक तथा अन्तरक्रियात्मक शैलीमा आयोजित उक्त कार्यक्रममा पूर्वप्रावि निर्देशक शोभा प्रजापतिले धन्यवाद ज्ञापन गरेको थियो । साथै उपस्थित अभिभावकहरूले विद्यालय तथा शिक्षिकाहरूको शिक्षणशैलीको प्रशंसा गर्दै यस्ता प्रयोगात्मक कार्यमा अझ अभिभावकलाई सहभागी गराउन अनुरोधसमेत गरेका थिए ।