पर्दाभित्रबाट समाज नियाल्दा

0

पुस्तक (उपन्यास) समिक्षा



-रुबि सत्याल 

भनिन्छ पुरानो कोट लगाउ नयाँ किताब पढ, किताब आफैंमा ज्ञानको भण्डार हो । धमिराले किताब धेरै खान्छ तर उ कहिल्यै बिद्वान हुँदैन । त्यस्तै समाजमा किताब धेरै पढेका पद र प्रतिष्ठा कमाएका मनुवाहरुको वास्तविक रहस्योद्घाटन गर्ने क्रममा साहित्यकार तथा कानुन ब्यवसायी गङ्गाप्रसाद भेटवालको उपन्यास पर्दाभित्र समाजका विकृति विसंङ्गति र समाजिक यथार्थतालाई चिरफार गर्दै लेखिएको उपन्यास हो ।

उपन्यासमा विभिन्न पात्रहरू मार्फत समाजको यथार्थ चित्रण गरिएको छ। आर्थिक र सामाजिक स्तर बृद्धिका लागि गाउँबाट शहर पसेका बसन्ते पात्रले शहरमा भोगेको तिता मिठा अनुभवलाई उपन्यासमा विभिन्न पात्रहरू मार्फत समाजको यथार्थ ऐना जस्तै छर्लङ्ग देखाउने प्रयास गरिएको छ । पण्डित बा कहाँ आएका विभिन्न पात्रहरू कोही कानुन व्यवसायी, कोही डाक्टर , कोही देशका उच्च पदस्त कर्मचारी लगायत अन्य पेशामा संलग्न व्यक्तिहरुको जीवन भोगाईलाई समेट्दै आफ्नो जिन्दगीको पर्दा भित्रका कालो कर्तुतलाई,अनैतिक कुकर्मलाई पर्दाले  छोपेर समाजमा प्रतिष्ठित बन्न खोज्ने ढोंगीहरुको धुलिसात पार्न लेखकले  अत्यंत सुक्ष्म रुपमा आफ्नो लेखन कौशल मार्फत सफल भएका छन्। मान्छेले आफ्नो लक्ष बिर्सेर धनको लालचमा गर्ने अनैतिक कार्यबाट मान्छे कसरी पीडित भएका छन् भन्ने कुरा पर्दा भित्र उपन्यासमा उपन्यासकारले चिरफार गर्ने काम गरेका छन् ।बसन्ते पात्रले शहरमा आएपछि यिनै अनुभूतिका आधारमा आफुलाई देशको सबल र सक्षम न्याय मूर्ति बनेर देश को सेवा गर्ने प्रण लिएको छ । एक सच्चा ईमान्दार मान्छे बन्न खोज्दाखोज्दै पनि आर्थिक अवस्थाले मानिस कसरी दलदलमा फस्दै जान्छ र जिन्दगीको उत्तरार्द्धमा कसरी पीडित बन्न पुग्छ अनि पापमोचनका लागि उस्ले के मात्रै गर्दैन र चैनको निन्द्रा प्राप्तिका लागि के मात्रै गर्दैन भन्ने कुरा उपन्यासका पात्रहरू मार्फत समाजको यथार्थ बुझ्न धेरै बेर लाग्दैन ।उपन्यास मध्ये पर्दाभित्र उपन्यास समाजको यथार्थ चित्रण गरिएको दस्तावेज भन्न सकिन्छ ।

उखान टुक्का लाई समय सन्दर्भ अनुसार जोडेर राख्नाले उपन्यास स्वादिलो बनेको छ । उपन्यासमा पुरुष पात्रले नारी पात्रलाई यौन शोषण गरेको र अनावश्यक रूपमा नाजायज सम्बन्ध राख्नाले आएका विभिन्न समस्यालाई उजागर गरेको छ । ज्ञानको ज्योती बाल्नु पर्ने शिक्षक जस्तो मर्यादित पेशामा संलग्न व्यक्तिले आफ्नै विद्यार्थी माथिको कुदृष्टि लगायत यौन शोषणको दर्दनाक कथाव्यथा,विद्यालय जस्तो ज्ञानमन्दिरमा रहेर गरिएका कुकृत्यलाई उजागर गरेको देखिन्छ । समाजका यस्ता नैतिकपतन भएका शिक्षक बाट हाम्रा बालबालिका माथिको भविष्य कसरी सुरक्षित रहन सक्ला भन्ने चिन्तालाई उपन्यासले स्पष्ट गरेको पाइन्छ । यसले पुरुष पात्र बलियो र महिला पात्र निरीह बनाइएको हो कि भन्ने भान पार्छ । महिलालाई यौन संग जोड्दै उनीहरू निरीह र पुरुषका खेलौना पो हुन् की जस्तो देखाउनाले के नारी कमजोर नै हुन् त भन्ने प्रश्न खडा हुन सक्छ । आजका नारी पुरुषका दास मात्र नभै आफैंमा आत्मनिर्भर र पुरुषसंग काँधमा काँध मिलाएर अगाडि बढ्दै स्वावलंबी बनेका उदारहण कहीं कतै उपन्यासमा राखेको भए अझै मिठास हुन्थ्यो कि जस्तो पनि नलाग्ने चाहिं होइन । 

गाउँका पुरुष पात्र विदेशिनु र महिला पात्रहरू चाहिं आफैलाई पढाउन आएका शिक्षक संग शारीरिक सम्बन्ध राख्नाले समाजमा विकृति विसंगति मौलाउँदै गएको हो कि भन्न सकिन्छ। महिलालाई आफ्नो खुशीको लागि प्रयोग गर्ने र उनीहरूको आँखा छलेर भिडियो बनाएपछि ब्लेक मेलिङ्ग गर्ने पैसा कमाउने नाउँमा उनीहरूको अस्मिता माथि धावा बोल्ने पुरुष पात्र को मानसिकता देखेर घृणा लाग्नु अस्वाभाविक होइन । समाजका दुर्बल पक्षलाई उजागार गर्दै गर्दा ज्वतिषले मान्छेको वर्ग अनुसार शुल्क लिने र कमजोर आर्थिक अवस्था भएकी महिलालाई कम शुल्कमा काम गरिदिनाले ज्वतिष को राम्रो पक्ष देखाउन खोजिए पनि गलत व्यक्ति अनि वर्गको सम्पूर्ण कर्तुत लुकाउने प्रयास गरिएको र उनीहरूकै समर्थनमा काम गरिदिएको देखिन्छ। के समाजमा धर्म संस्कृतिको जगेर्ना गर्ने गुरु पुरोहित हरुले पैसाकै लागि जघन्य अपराधलाई प्रोत्साहन त दिएका छैनन भन्ने प्रश्न उपन्यासकारले गरेका छन् ।

आफ्नै श्रीमती र आफ्नै सन्तानलाई आफैले जानाजान मार्ने अपराधी कसरी समाजमा पैसाकै आडमा खुलेआम हिँडेका छन् भन्ने कुरालाई मार्मिक रुपमा देखाइएको पाइन्छ, जुन गम्भीर विषय पनि हो । समाजको यथार्थ चित्रण लाई विभिन्न पात्रहरू मार्फत बाहिर ल्याउनु उपन्यासको सबल पक्ष मान्न सकिन्छ । मानिसले आफ्नो व्यावहार धान्नको लागि के गलत सम्बन्ध राख्नै पर्छ र ? प्रश्न गम्भीर छ , अझै महिला पात्र यसको विरुद्ध खरो रुपमा उत्रिएको नभेटिनुले महिलाहरु साँच्चैनै कमजोर पात्र नै हुन् त ? भन्ने कुरा अनुत्तरित छ । उनीहरू आफ्नो अस्तित्त्व जोगाउन सक्षम नभएका त होईनन् जस्तो उपन्यास पढ्दै जाँदा अनुभूति गर्न सकिन्छ । देशमा कानुन नै नभएको र उनीहरू आफ्नो रक्षार्थ नउभिएको हो कि वा समाज अझै पनि यही र यस्तै जंजाल छ कि ? भनेझैं उपन्यासको घटनाक्रम बाट बुझ्न सकिन्छ । पैसाका लागि समाजमा बलियो देखिने पुरुष पात्रले जस्तो पनि अपराध गर्न नहिचकिचाउने र कानुन आफ्नो हातमा लिएका अपराधीहरू हाम्रा वरिपरी ब्याप्त त छैनन् भन्ने आभाष दिलाउनु उपन्यासको अर्को पक्ष हो । 

समाज अझै पनि पुरुषवादी र महिला अझै पनि उत्पीडनमै बाँच्न बाध्य भएको तितो यथार्थ उपन्यासमा विभिन्न पात्रहरू मार्फत चित्रण गरिएको छ । उपन्यास पढिरहँदा यी पात्रहरू जीवन्त बनेर आँखा वरिपरि घुम्छन् । उपन्यासको मुख्य र बलियो पक्ष भन्नु नै पात्रहरू सशक्त र क्रियाशील हुनु हो । त्यहाँ पात्रहरू हाँस्छन्, रुन्छन्, आफ्नो गल्तीको प्रायश्चित गर्छन् यो उपन्यासको मुख्य सौंदर्य हों ।गाउँले अनि शहरी परिवेशमा उपन्यास घुमेको पाइन्छ । पात्रहरू विभिन्न जात धर्म र संस्कृतिको भएपनि आर्थिक रुपमा सम्पन्न हुन गलत सम्बन्ध राख्नै पर्छ र अपराधको बाटो खोज्दै हिँडेको तितो तर कटु यथार्थलाई उपन्यासमा प्रस्तुत गरिएको छ । कानूनको आँखामा धूलो छरेर आर्जन गरिएका अकुत सम्पतिलाई शुद्धिकरण गर्न पूजा पाठ गर्ने दान दक्षिणाले जघन्य अपराधलाई छोप्न अनि समाजमा फोस्रो रवाफ बढाउन प्रोत्साहन दिने ढोंगी संस्कार संस्कृति माथी व्यङ्ग्य गर्नु उपन्यासको अर्को सबल पक्ष हो । 

उपन्यासमा एक पछि अर्को घटना क्रम ले उपन्यास रोचक बनेको छ । घटना क्रमको बर्णन गर्दै जाँदा पात्रहरू धेरै देखिन्छन् र मुख्य पात्र ओझेलमा परेको हो कि जस्तो पनि लाग्छ । समग्रमा भन्नुपर्दा उपन्यास समाजको सामाजिक  ,आर्थिक, राजनैतिक, भौगोलिक, संस्कार संस्कृति , विकृति विसंगती को यथार्थ चित्रण गरिएको शसक्त उपन्यासको रुपमा आएको देखिन्छ । गाउँबाट विभिन्न पात्रहरू शहर आएका र नैतिकवान पात्रहरू सम्पति आर्जन गर्न कसरी अनैतिक कार्य गर्न बाध्य छन् र जिन्दगीको उत्तरार्द्धमा कसरी आत्मग्लानि गर्न पुगेका छन् भन्ने बोध गर्न सकिन्छ। प्रेम जस्तो पवित्र भावलाई शारीरिक सुख मात्र ठानेर गलत सम्बन्ध राख्दै त्यसैलाई पैसा कमाउने भाडो बनाउने गलत प्रवृत्तिको चिरफार गर्नु उपन्यासको दरिलो पक्ष हो।

उपन्यासको शीर्षक अनुरूप मान्छेले पर्दाभित्र गर्ने अनैतिक कुकृत्यको पर्दाफास गर्नुले पनि उपन्यासको शीर्षक सार्थक बनेको छ ।देश प्रेमले ओतप्रोत देखिएका उपन्यासकारले समाजको विकृति र विसंगतिमाथी औला उठाएका छन् । 

सामाज कतातिर जाँदैछ र हामीले आफ्नो तर्फबाट कस्तो योगदान दिनु पर्छ भन्ने चेत प्रचुर मात्रामा उपन्यासमा देख्न सकिन्छ । देश विकासका निम्ति निर्वाचन जितेर गएका व्यक्तिले आफ्नो निहित स्वार्थको निम्ति देशलाई कसरी खोक्रो पार्न धमिरा बनेर पसेका छन् र ती गलत व्यक्ति को हातबाट भएको कुकृत्यलाई उपन्यासकारले  पर्दाफास गर्दै चिरफार गर्न सफल भएका छन् ।अबको समय सक्षम युवा पुस्तालाई देशको सम्पूर्ण जिम्मेवारी सुम्पेर देशको आर्थिक सामाजिक राजनीति क्षेत्रमा आमूल परिवर्तन ल्याउनु पर्ने टड्कारो आवश्यकतालाई सुन्दर रुपमा प्रस्तुत गरिनु अर्को सवल पक्ष रहेको छ । केही काल्पनिक पात्र र केही यथार्थ पात्रलाई काव्यि रङ्गमा सिंगारिएको उपन्यासमा बौद्धिक र काल्पनिकताको सङ्गम बन्न  सक्षम भएको छ । उपन्यास पर्दाभित्र सामाजिक विकृति विसंगतिको दस्तावेज बन्न सफल उपन्यास हों ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top