हेलम्बुमा २ दिने साहित्यिक यात्रा सम्पन्न

0



–जयराम बिडारी

सिन्धुपाल्चोक । ‘पर्यटनका लागि साहित्य’ भन्ने नारा सहित आन्तरिक पर्यटन र साहित्यलाई एकसाथ जोड्ने उद्देश्यका हेलम्बु ६ घोप्टेघ्याङ स्थित हेलम्बु बोधिसत्व मोडल स्कुलमा आयोजित विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि हेलम्बु गा.पा. अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले राज्यले संविधानमा व्यवस्थित गरिएको निःशुल्क शिक्षा र स्वास्थ्यको आधारभूत अधिकारलाई सम्मान गर्नुपर्ने बताएका छन् । पर्यटनका निम्ति साहित्य’ नारा अन्तर्गत हेलम्बु आई साहित्यिक कार्यक्रम संयोजन गरेका साहित्यकार, स्थानीय विद्यार्थी तथा शिक्षकलाई सम्बोधन गर्दै उनले आफ्नो गाउँपालिकामा १२ कक्षासम्मको शिक्षा र स्वास्थ्य निःशुल्क भएको जानकारी गराए । अध्यक्ष शेर्पाले हेलम्बु गाऊँ पालिकाको ५७%बजेट शिक्षा र स्वास्थ्यमा मात्र लगानी भएको कुनैबेला हिन्दुका लागि पण्डित र बुद्धिस्टका लागि समेत आयात गर्नुपर्ने बिकराल परिस्थितिलाई मध्यनजर गरी संस्कृत, सम्भोटा लगायतको भाषाकक्षा समेत संचालन गरी संस्कार र संस्कृतिको संरक्षणमा जोड दिएका छन् । कुनै बेला बर्थिङ सेन्टरमा वार्षिक चार जना मात्र आएकोमा अहिले दुई सयभन्दा बेसीले प्रसूति सेवा लिइरहेको जानकारी दिए । ६० किमि लामो ग्रेटट्रेल बनाई पर्यटक आकर्षित गर्ने योजनालाई मूर्त रुप दिएको, दीर्घरोगी स्थानीयलाई निःशुल्क औषधिलगायतसुविधा उपलब्ध गराएको बताए । साथै राज्यले विश्वव्यापी रुपमा तापक्रम वृद्धिलाई गम्भीर ढङ्गले लिएर विश्व समुदायमाझ क्षतिपूर्ति दाबी गर्नुपर्ने जिकिर गरे ।

राजधानीबाट आमन्त्रित साहित्यकारहरू आरएम डङ्गोल, डा. बिन्दु शर्मा, राजेन्द्रमान डङ्गोल, स्नेह सायमी, लक्ष्मी माली, माधव घिमिरे ’अटल’, जयराम बिडारी, लक्ष्मी रूम्बा, प्रभा बरालले आ–आफ्ना सिर्जना पस्किएका थिए ।

प्रा.डा.ऋषिराम शर्मा, केशव पुडासैनी ’बिमल’, कुमारी लामा र राजकुमार बानियाँले साहित्य र पर्यटनबारे आ–आफ्ना भनाइ राखे । ’अबको हेलम्बु कस्तो हेलम्बु ?’ भन्नेबारे उनीहरूले आ–आफ्ना कोणबाट प्रस्ट्याए । स्नेह सायमीले हेलम्बुको पानीको अधिकार र अबको विकासको बाटोबारे आफ्नो अभिमत राखे । सिर्जना वाचनको बीचबीचमा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए भने शिक्षक जगत् ठकुल्लाले सुदूरपश्चिममा अत्यन्त लोकप्रिय देउडा गीत गाएका थिए ।

कार्यक्रममा अध्यक्ष शेर्पाले आमन्त्रित साहित्यकारहरूका हेलम्बुका विषयमा लेखिएका सिर्जना समेटेर निकट भविष्यमा एउटा पुस्तक प्रकाशित गर्ने वाचा समेत गरे । कार्यक्रमको सहजीकरण शिक्षक यमबहादुर ज्योतिले गरेका थिए भने अध्यक्षता विद्यालयका प्रधानाध्यापक केशव पनेरूले गरेका थिए ।

साहित्यकारहरुको टोलीले दोस्रो दिन हेलम्बु गा.पा.वडा नम्बर १ ढुङ्दिङ्ग स्थित सामुदायिक भवन रहेको चौरमा महायानी बुद्ध धर्मावलम्बीहरुको सेजु (कसैकसैले छ्योजु) समेत भन्दछन्, पूजा मेला अवलोकन गरी चाडपर्व मेला अनि संस्कृतिलाई नजिकबाट नियाल्ने, बुझ्ने अनि अध्ययन गर्ने अवसरको रुपमा उपयोग गरेका थिए । ह्योल्मो जाति समूदायमा मनाइने सोनाम ल्होसार शुरु भएको नवौं दिन तोर्मा (सातुको पिठोलाई घ्यूमा मुछेर बनाइएको) तथा सगून राखेर ईस्टदेवलाई आह्वान गर्ने,दशौं दिन सामूहिक रुपमा लामा नाच्ने र एघारौ दिनमा अभिषेक लिएर मेला पूर्ण गरिने कुरा स्थानीय नीमा दोर्जे लामाले बताए । उक्त मेला सामूहिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष फरक–फरक गाऊँ टोलमा आयोजना गरिने तथा सामूहिक लामानाचमा भाग लिन नाम टिपाएर समयमा सहभागी हुन नसक्ने सदस्यले जरिवाना समेत तिर्नुपर्ने कुरासमेत स्पष्ट पारेका थिए । सोही प्रचलन अनुसार गतवर्ष चिनिंयाखर्क, यस वर्ष ढुङ्दिङ्मा र अर्को वर्षको मेला रिभरमा संचालन गरिने बताए । सेंजु पूजामा सहभागीता तथा अवलोकन गर्न त्यहाँ पुगेका साहित्यकार लेखकहरुको समूहलाई स्थानीय स्तरमा उपलब्ध स्वादिष्ट अर्ग्यानिक खाना खुवाएर न्यानो आतिथ्यता प्रकट गरेका थिए । कार्यक्रम पश्चात लेखकहरुको टोली मेलम्ची खानेपानी आयोजनाको ड्यामको अवलेकन भ्रमण गरि काठमाण्डौ फर्किएको थियो ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top