यसवर्ष लाय्कू भैल प्याखँ प्रदर्शन नहुने

0

यसवर्ष लाय्कू भैल प्याखँ प्रदर्शन नहुने


भक्तपुर । यसवर्ष लाय्कू भैल नाच प्रदर्शन नहुने भएको छ । यसको सत्तामा मध्यपुर थिमिको चपाच्व क्षेत्रबाट थिमि भैल प्याखँ  सञ्चालन गरिने भएको छ । मध्यपुर थिमिमा सापारुको भोलीपल्टको रातीबाट चार दिनसम्म लगातार विभिन्न देवीदेवताको प्याखँ (नाच) प्रदर्शन गरिने गरिन्छ । यसै सन्दर्भमा यसवर्ष चपाच्वबाट थिमि भैल प्याखँ प्रदर्शन गर्न लागिएको हो ।

नेपाल मन्दलमा निकालिने मौलिक एवम प्राचिनतम भैल प्याखँ भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया) देखि पञ्चमीसम्म चार दिन नगरको बिभिन्न टोलहरुमा प्रदर्शन गरिन्छ । जसअनुसार यसवर्ष भदौ १५ बाट भैल प्याखँ प्रदर्शन हुनेछ । भैल प्याखँ विविध शास्त्रीय तथा तान्त्रिक विधिहरु पुरा गरी निकालिन्छ । त्यसैले यसलाई तान्त्रिक विधियुक्त प्याखँको रुपमा समेत लिईन्छ ।

थिमि भैलमा नाच्ने पाँच जना कलाकार हुन्छ । जसमा न्हापाँ भैल एक, लिपाँ भैल एक, ज्यापुंगः एक, न्हापाँ दागीँ एक र लिपाँ दागीँ एकजना रहन्छ । यसका साथै नाचमा संगीतको ताल दिन अन्य परम्परागत नेवारी बाजा बजाउनेहरु हुन्छन ।

थिमि भैलमा यसवर्ष सरगत प्रजापति ज्यापुंग, श्यामसुन्दर प्रजापति न्हापाँ भैल, साजन प्रजापति लिपा भैल, निरोज प्रजापति न्हापाँ दाँगी र नयन प्रजापति लिपा दाँगीको रुपमा नाच्ने छन भने आशाकाजी प्रजापति कजी अर्थात व्यवस्थापकको रुपमा रहने थिमि भैलः चपाच्व २०८० व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण प्रजापतिले जानकारी दिए । थिमि भैल प्याखँलाई व्यवस्थित ढंगले प्रदर्शन गर्न चन्द्रकृष्ण प्रजापतिको अध्यक्षतामा १७ सदस्यीय थिमि भैलः चपाच्व २०८० व्यवस्थापन समिति गठन गरिएको छ । 

थिमि भैल प्याखँमा यसवर्ष ७ जना गुरुहरुले नाच सिकाउने छ । समितिका अनुसार सन्तकुमार प्रजापति, तेजकुमार प्रजापति, हर्षबहादुर प्रजापति, गणेशमान प्रजापति, मोहनकृष्ण प्रजापति, विष्णुबहादुर प्रजापति र तेजबहादुर प्रजापति गुरुको रुपमा रहने छ । त्यसैगरी बाद्यवादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरु करिव ३ दर्जनको संख्यामा रहन्छन । यसका साथै प्याखँका कलाकारका सहयोगी समेत करिव ५० जनाको टोली भैल प्याखँमा सहभागी हुने अध्यक्ष चन्द्रकृष्णले बताए ।

थिमि भैल प्याखँ पहिलो चोटी नासननीमा प्रदर्शन गरिन्छ । त्यसपछि क्रमशः मध्यपुर थिमिको चपाच्व, गार्चा, ग्वगँ चिवाः, स्वंगाः पुखु, पाचो, दुवाफल्चा, पोबू, भुलाँख्य, ताहाननी, दिगुत्वा, लाय्कू, दथुत्वा, बालकुमारी मन्दिर परिसर, हात्तीमहांकाल, कुतिचिवाः, जलाननी, वाचुननी, कुमाननी, तुलननीमा प्रदर्शन गरिने गरिन्छ  । यसभन्दा अगाडि लाय्कू भैल बालकुमारी मन्दिर परिसरमा प्रदर्शन गरेपछि अन्य स्थानमा प्रदर्शन गर्ने प्रचलन रहेकोमा यस बर्ष यो नाच चपाच्वबाट शुरु हुने भएकोले बालकुमारीमा अन्तिममा प्रदर्शन गर्ने गरिन्छ ।

भैल प्याखँको खर्च लागि सार्वजनिकरुपमा सहयोगको अपिल गरिएको र नगरपालिकाले प्याखँलाई विगतका वर्षहरुमा जस्तै आर्थिक सहयोग उपलब्ध गराईने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । नगरपालिकाको मूल नारा नै हाम्रो कला हाम्रो सँस्कृति मध्यपुर थिमि हाम्रो सम्पत्ति भन्ने रहेको छ । नारालाई सार्थक बनाउन पनि नगरपालिकाले कला सँस्कृतिको संरक्षणमा विशेष सहयोग गर्दै आइरहेको छ । विगतमा जस्तै यसवर्ष पनि सहयोगलाई निरन्तरता प्रदान गरिनेछ, उनले भने ।

तत्कालिन अवस्थामा लाय्कु भैल प्रदर्शनमा आउने भएपछि प्रजापति वा श्रेष्ठ समूदायबाट भैल प्याखँ निकाल्न नपाईने र लाय्कू बाहिरबाट श्रेष्ठ वा प्रजापति समुदायले थिमि भैल प्याखँ ननिकालेको अवस्थामा लाय्कुबाट अनिवार्यरुपमा लाय्कु भैल प्याखँ प्रदर्शन गर्नुपर्ने परम्परा रहेको भैल नाचसँग सरोकार राख्ने गुरुहरुको भनाई छ । सोही अनुसार अहिले पनि लाय्कु भैल सञ्चालकहरुसँगको समन्वयमा थिमिमा भैल प्याखँ निकालिँदैं आएको छ ।

यो प्याखँमा ज्यापुंगःलाई हरिसिद्धिको प्रतिकको रुपमा लिइन्छ । भैल प्याखँमा अरु कलाकारहरुसँग मुकुण्डो हुन्छ तर ज्यापुंगः विना मुकुण्डो नाचिन्छ । यो प्याखँमा ज्यापुंगः हुनेको उमेर कम हुन्छ । भैल र दाँगी क्रोधित हुने बेला शान्त पार्न ज्यापुंगःले देवगणलाई कपासको बिया“ले हान्ने गर्दछ ।

थिमि भैलको न्हापाँ भैललाई दिगु टोलको चण्डी भैल पनि भनिन्छ । चण्डी भैल अथवा अष्ट भैरवको आठ रुपमध्ये एक रुपको रुपमा लिइन्छ । यो भैलको दायाँ हातमा खड्ग हुन्छ र यही खड्गलाई चलाउँदै बाजाको तालमा नाच्ने गर्दछ । नाचमा यो न्हापाँ भैल ज्यापुंगः पछिको दोस्रो क्रममा बस्ने गर्दछ । लिपाँ भैल यो प्याखँमा न्हापाँ भैलको पछाडी बस्ने गर्दछ । लिपाँ भैललाइ क्वँचा भैल पनि भनिन्छ । यो भैल बालकुमारीको भैल द्यो हो । यसलाई बटुक भैरवको प्रतिकको रुपमा पनि लिइन्छ । यो भैलको दायाँ हातमा खड्ग हुन्छ र यही खड्गलाई चलाउँदै बाजाको तालमा नाच्ने गर्दछ ।

भैल प्याखँको न्हापाँ दागीँलाई बालकुमारीको प्रतिकको रुपमा लिइन्छ । बालकुमारी चण्डी भैलको शक्ति देवी हो । नाचको क्रममा न्हापा दागी लिपाँ भैलको पछाडि बस्ने गर्दछ । न्हापा दागीँको दायाँ हातमा डमरु हुने गर्दछ । बाजाको तालमा डमरु बजाउँदैं नाच्ने गर्दछ । लिपा दागीँ महालक्ष्मीको प्रतिकको रुपमा लिइन्छ । नाचको क्रममा लिपाँ दागीँ न्हापा दागीँको पछाडि बस्ने गर्दछ ।

भैल प्याखँ सम्बन्धी किंवदन्ती अनुसार तत्कालिन समयमा थिमि क्षेत्रका जनताहरुलाई भूत प्रेतले अत्याधिक दुःख दिइरहेको थियो । रातको समयमा मात्र नभई दिनको समयमा पनि दुःख दिन थालेपछि किसानहरु खेतीपाती गर्न जान पनि डराउन थाल्यो । त्यसपछि देशमा हाहाकार मच्चियो । जनताहरु राजालाई गुहार्न पुगे र राजाले तान्त्रिक, विद्वान, नामुद शास्त्रज्ञहरुसंग छलफल गर्दा मानिसहरुमा तान्त्रिक रुपमा भैरव जगाइ टोलटोलमा क्रोधित मुद्रामा नचाएमा भूतप्रेतहरु टिक्न नसक्ने सल्लाह दिए । सोही आधारमा थिमिमा भैलः प्याखँ सञ्चालनमा आएको किम्बदन्ती रहेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top