गठामुग चर्हे : यस्तो छ घण्टाकर्ण चतुर्दशी पर्वको कहानी

0

 

गठामुग चर्हे : यस्तो छ घण्टाकर्ण चतुर्दशी पर्वको कहानी

नेपालमा विभिन्न समयमा मनाइने पर्वहरूमा श्रावण कृष्ण चतुर्दशीको दिनमा मनाइने गठामुग चर्हे (घण्टाकर्ण चतुर्दशी) को पर्व पनि उपत्यकाको एउटा ठूलो पर्व हो । भूत पिशाच आदिले दुःख दिइरहेको घरमा त्यस दिन भूत भगाएर पठाउने नै मानिसको मुख्य काम सम्झिन्छ । भूत–प्रेतलाई घरबाट बाहिर धपाइँदा घरका जहान, परिवारलाई कुनै रोग–व्याधिले छुन नपाओस् भन्ने हेतुले त्यस दिन पञ्चरंगी औंठी लगाउने पनि गर्दछन् । यो औंठी टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई छुवाएर लगाएमा भूत–प्रेत, पिशाच आदिले छुन नसक्ने र अनेक रोगव्याधिबाट बच्ने विश्वास सबैमा जमिराखेको रहन्छ । यहि दिन टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई घरका केटाकेटीले खेल्ने कपडाले बनाइराखेको पुतलीका मालालाई लगाइदिनाले पिरेर दुःख दिइराखेका पिशाच आदिले छोडेर जाने गर्दछ भन्ने पनि धेरै छन् ।

यस पर्वमा टोलटोलमा केटाकेटीहरू जम्मा भई बाटोमा आउने जानेहरूसंग ‘जगात’ ल्याऊ भनी कराई पैसा माग्नु पनि केटाकेटीहरू एक किसिमको लहड मान्दछन् । धेरै पैसा जम्मा भएपछि साँझका् बेला गठेमङ्गलको काजक्रिया हुन्छ । उपत्यकाभित्र गठेमङ्गल थरीथरीका बनाइराखेका हुन्छन् । काठमाडौंमा एक किसिमको भए भक्तपुरमा अर्को किसिमले गठेमङ्गल बनाइराखेको हुन्छ र त्यस्तै पाटनमा गठेमङ्गल आफ्नै ढङ्गले बनाइराखेका हुन्छ । काठमाडौंको गठेमङ्गल नर्कटको बोटका मुठाहरूमा नाङ्ग्लोमा मुख लेखी माटाका घ्याम्पोको टाउको हाली बनाइराखेको हुन्छ । त्यस्तै भक्तपुरमा छ्वालीका मुठाहरूले हात खुट्टाहरू बनाई नाङ्ग्लोमा राक्षसको मुख लेखी माटाको घ्याम्पोको टाउको हाली नाङ्गो शरीरको चित्र देख्ने गरी बनाएको हुन्छ । साथै पाटनमा पनि आफ्न ढङ्गले नर्कटको मुठाले बनाइराखेको हुन्छ । यस्ता गठेमङ्गलहरू हरेक टोलटोलमा बनाइराखेका हुन्छन् । यी गठेमङ्गलहरूलाई दिनभरी टोलटोलको चौबाटोमा उभ्याइराखेपछि साँझको समयमा कुनै माध्यमसंग बोकाई वा मानिस आफैले बोकेर देशबाहिर खोलामा लगी तल्लो जातका मानिसले आगो हाल्न लगाई क्रिया गराउने गर्दछ । यो ठाउँअनुसार फरकफरक तरिकाले जलाउने परम्परा रहेको छ । तर भक्तपुरमा भने छ्वालीका मुठाहरू आगोले बाली टोलको परिक्रमा गरी फोहर कुराको नारा लगाउर नगरबाहिरसम्म लगेर आगोले धुवाँले छुवाउन पाए बालचरी रोगले केटाकेटीहरूलाई छुन पाउँदैन भन्ने ठूला जनविश्वास जमिराखेको छ । तसर्थ त्यस बेला केटाकेटीहरूलाई बालेको आगोको धुवाँ छुवाउन तँछाडमछाड गर्दछन् । त्यसपछि राति घरघरमा राक्षसहरू मरिसक्यो भनेर आफ्ना श्रद्धानुसार बलीपूजा गर्ने चलन पनि रहेको छ । तान्त्रिकहरू यसलाई ‘चर्हेपूजा’ भन्दछन् । यसैदिन घरको हरेक ढोकामा ३ खुट्टे करूवा किल्ला ठोकी ढोकाढोकामा पूजा पनि गरिन्छ ।

गठामुग बारे एउटा कथा

रूद्रयामल–तन्त्रमा, नेपाललाई ध्वंस पार्न गठेमङ्गल नाम गरेको बडेअजंगको राक्षेस एक जना आएर उत्पात मचायो । सो राक्षसलाई कसैले पनि मार्न सकेन । अन्त्यमा एक जना तान्त्रिकले आफू भ्यागुतोको रूप लिई त्यस राक्षसलाई यमलोक पठाइदिए । नेपालमा त्यस राक्षसलाई श्रावण कृष्ण चतुर्दशीको दिनमा मारेकोले त्यस दिनलाई नेपालीहरूले ठूलो उत्सव साथ पर्व मानिआएको हो । त्यस दिन टोलटोलमा सोही राक्षसकोमूर्तिको अनुकरण गरी नेपालमा उत्पात गरी दुःख दिने राक्षस यही नै हो भनी सबैलाई देखाई साँझ पर्न लागपछि घिसारेर लगी देशबाहिर पुर्याई आगोले जलाइदिने गर्दछ । राक्षसलाई मारेको दिनदेखि नेपालमा मानिसहरूको आयु बढेको हो । रूदयाल–तन्त्रबमोजिम उक्त दुष्ट राक्षसलाई मारिदिएको श्रावण कृष्ण चतुर्दशीको दिनको बडो महत्व भएकोले पर्व गरी मनाइआएको हो । यसैको आधारमा यो पर्व आजसम्म मनाइआएको छ ।

गठेमङ्गलको विषय अन्य विभिन्न कथाहरू सुन्न र पढ्न पाइन्छ ।

स्रोतः लीलाभक्त मुनंकर्मी

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top