मध्यपुर थिमिमा १५० शैयाको अस्पताल कोरियाको सहयोगमा बन्दै

0

मध्यपुर थिमिमा १५० शैयाको अस्पताल कोरियाको सहयोगमा बन्दै


भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा १५० शैयाको सुविधा सम्पन्न अस्पताल बनाउन नेपाल सरकार र गणतन्त्र कोरियाबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।   

सम्झौता अुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख (रू एक अर्ब २५ करोड ४० लाख) लगानी गरिने भएको छ । आगामी पाँच वर्ष (सन् २०२७) सम्ममा पूरा गरिसक्ने लक्ष्य रहेको सो परियोजनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्य एवम् समन्वयमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), मध्यपुर थिमि नगपालिका र उक्त अस्पतालले संयुक्त रुपमा रहने भएको छ ।

सम्झौता अनुसार नगरपालिका अस्पतालको छेउमा रहेको जग्गामा एक सय ५० शय्याको नयाँ अस्पताल निर्माण गरिने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा कर्मचारीका लागि क्षमता विकासका काम गरिने जनाइएको छ । हस्ताक्षर कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेलले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने यस साझेदारीका लागि कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गरे । यो परियोजनालाई सफलरूपमा कार्यान्वयनमा ल्याउन सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपालका लागि कोरियाली राजदूत पार्क, ते–योङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने बताउँदै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताए । द्विपक्षीय कूटनीतिक सम्बन्धको ५० औंँ वर्षगाँठ मनाउन कोरिया इन्छुक रहेको पनि उनको भनाई थियो ।

अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले कोरियाली सरकार नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गरे । कोइकाका निर्देशक कोङ मुहओनले कोइका नेपालका विभिन्न स्वास्थ्य परियोजना कार्यान्वयनमा सक्रिय रहेको र हरेक परियोजनाले विशिष्ट उपलब्धि हासिल गरिरहेको बताए ।

मध्यपुर थिमिमा १५० शैयाको अस्पताल कोरियाको सहयोगमा बन्दै

यस अस्पतालको दोस्रो चरणको सेवाले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र भक्तपुर तथा आसपासका जिल्लाका आर्थिकरूपमा कमजोर नागरिकका लागि विशिष्टिकृत स्वास्थ्यसेवामा पहुँच पुर्याइने जानकारी उनले दिए ।

सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कोइका र उक्त अस्पतालका प्रतिनिधिको उपस्थिति थियो । सो परियोजना अन्तर्गत गुणस्तरीय अस्पताल व्यवस्थापन, सङ्क्रमण नियन्त्रण र स्वास्थ्य क्षेत्र सुधारका लागि पूर्वाधार तयार गर्ने तथा कर्मचारीको क्षमता अभिवृद्धि गरिने जनाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top