पुरातात्त्विक सम्पदा मासेर नयाँ संरचना

0

पुरातात्त्विक सम्पदा मासेर नयाँ संरचना


भक्तपुर । चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित झौखेलधारा क्षेत्रमा रहेको पुरातात्त्विक सम्पदा मासेर धमाधम नयाँ भौतिक संरचना निर्माण भइरहेको छ । २०७० सालमा इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले विभिन्न समयमा गरिएको अनुसन्धानबाट उक्त क्षेत्रमा पुरातात्त्विक सम्पदा भेटिएको सार्वजनिक गरेका थिए । अहिले सोही सम्पदा क्षेत्रमा स्थानीयले धमाधम किरियापुत्री भवन निर्माण गरिरहेका छ । 

डा. श्रेष्ठले एक दशकअघि सो क्षेत्रमा लिच्छविकालीन शिवदेव र अंशुवर्माको शिलालेखसँगै बौद्ध चैत्य तथा प्राचीन पोखरी रहेको अनुसन्धानबाट पुष्टि गरिएको बताएको थियो । उनका अनुसार साबिक पोखरी रहेको सो क्षेत्रमा अहिले स्थानीयले पोखरी मासेर किरियापुत्री भवन बनाउँदै छन् । उनले भने, “सम्पदा मासेर भौतिक संरचना निर्माण हुनु सम्पदायमाथिको अपमान हो, यस्तो कार्य तत्काल रोकिनुपर्छ ।” 

सम्पदा क्षेत्रमा निर्माण भइरहेको नयाँ भौतिक संरचना तत्काल रोक्न स्थानीय सम्पदाप्रेमीले चाँगुनारायण नगरपालिका र पुरातत्त्व विभागअन्तर्गत भक्तपुर दरबार हेरचाह अड्डालाई ध्यानाकर्षण गराएका छन् । अहिले पनि अंशुवर्माको शिलालेखमा चाँगुनारायण (थमखोप्रिङ्ग दङ्ग्र) माथिल्लो भक्तपुरको सहर थियो भन्ने उल्लेख छ । उनले उक्त शिलालेखबाट चाँगुनारायण क्षेत्र प्राचीन सहर थियो भन्ने प्रस्ट भएको उल्लेख गर्दै अहिले पनि ती सम्पदा सोही स्थानमा रहेको जानकारी गराएका छन । 

भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले सम्पदा क्षेत्रमा स्थानीयले भौतिक संरचना बनाएको दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डाको प्रारम्भिक अनुगमनबाट पुष्टि भएको बताए । उनले कार्यालयले छिट्टै थप अनुगमन गरी निर्माणाधीन किरियापुत्री भवन निर्माण कार्य रोक्न चाँगुनारायण नगरपालिकालाई परिपत्र गर्ने तयारी गरिएको जानकारी दिएका छन् । 

स्मारक संरक्षित ऐनमा संरक्षित स्मारक क्षेत्रभित्र कसैले टेलिफोन वा विद्युत् लाइन जडान गर्न, खानेपानी वा ढलका लागि जमिन खन्न, सडक बनाउन वा मर्मत गर्न, चलचित्रको सुटिङ गर्न; मेलापर्व, नाचगान, सवारीसाधनको पार्किङ र पोस्टर टाँस्नसमेत पुरातत्त्व विभागबाट स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ । उक्त संरचना निर्माण गर्दा कसैले पनि पुरातत्त्व कार्यालयबाट स्वीकृति नलिएको हेरचाह अड्डाले जनाएको छ । 

चाँगुनारायण नगरपालिका–३, (झौखेल)का वडा सचिव पशुपति गैँडाले झौखेलधारास्थित पुरातात्त्विक क्षेत्रमा स्थानीयले किरियापुत्री भवन निर्माण गरेको स्वीकार गरे । अहिले उक्त किरियापुत्री भवन निर्माण कार्य रोक्न आग्रह गरिएको जानकारी दिँदै सरोकारवालासँग थप छलफल गरेर निर्माण कार्य पूर्ण रूपमा बन्द गरिने जानकारी दिए ।   


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top