सिथि नख ः यस्तो हुन्छ यो पर्वमा

0

सिथि नख ः यस्तो हुन्छ यो पर्वमा


नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाउने गर्दछ । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठी अर्थात् आजका दिन मनाउने यस पर्वलाई नेवा समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमासमेत मनाउँदै आइरहेको छ ।

भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ अर्थात् वः खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।

नेवार समुदायमा ऋतु अनुसार तथा चाडपर्वअनुसारका पकवान खाने प्रचलन रहेको छ । त्यसैले नेवा समुदायका चाडपर्व बिशिष्ट खाना परिकारको नामले समेत प्रसिद्ध छ । त्यस्तै पर्वमध्ये एक हो सिथि नखः पर्व । सिथि नखःको दिन नेवा समुदाय पानीको स्रोतको रुपमा रहेका मुहान, इनार, कुवा, पोखरी, धारालगायतका स्थानको सरसफाइ गर्ने गर्दछन् ।

वर्षाको बेला बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षाको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने प्रचलन रहेको हो ।

सिथि नखः पर्वले नेवा समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्हा ज्याः (धान रोपाइँ) शुरु हुने भएकाले यस चाडलाई वर्ष अघिको अन्तिम चाडको रुपमा लिइन्छ ।

नेवा समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउछन् “पहिलो सिथि नखः महादेव पार्वतीका ज्येष्ठ सुपुत्र कुमारको जन्म दिन भएकोले पनि धार्मिक महत्व छ, गणेश देवताका गणनायक हुन भने कुमार देवगणका सेनापति हुन । देवी देवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षाको बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास छ”, प्रा डा श्रेष्ठले भने ।

नेवा समुदाय कला संस्कृति र सांस्कृतिक मनोरञ्जनका पारखी हुन् । उनीहरु वर्षभरि अनेकथरी कला, सांस्कृतिक झाँकी र चाडपर्व मनाउने गर्दछन् तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन् ।

नेवारीमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात् ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवस्थामा किसानलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा डा श्रेष्ठको कथन रहेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top