कीर्तिपुरमै रहने भइन् याकःमिसा, बुंगमतीमा मच्छिन्द्रनाथ

0

कीर्तिपुरमै रहने भइन् याकःमिसा, बुंगमतीमा मच्छिन्द्रनाथ


काठमाडौं । कीर्तिपुरको प्यंगथाँमा स्थापना भएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति अन्तत बुंगमती लगिएको छ । यससँगै कीर्तिपुर र ललितपुरबीचको मूर्ति विवाद पनि समाधान भएको छ । कीर्तिपुर नगरपालिकाले गत बिहीबार मध्यरातमा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति ह्यागृव भैरवनाथ र ३२ पानेजु संघलाई हस्तान्तरण गरेपछि विवाद समाधान भएको हो ।

मच्छिन्द्रनाथसँगै बनाइएको याकःमिसाको मूर्ति भने कीर्तिपुरकै संग्रहालयमा राखिने मेयर राजकुमार नकर्मीले जानकारी खिएका छन् । ‘हामीले हाम्रो संस्कृतिलाई संरक्षण गर्न पटकपटक उहाँहरूसँग छलफल गरेका थियौं । अन्तिममा लामो समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिने कुरामा सहमति भयो,’ उनले भने, ‘मच्छिन्द्रनाथको मन्दिर पनि बुंगमतीमै छ र ३२ पानेजुहरू आएर त्यसलाई बुंगमतीमै लैजाने भनेर लग्नुभएको छ । याकःमिसाको मूर्ति भने कीर्तिपुरमा नै रहनेछ ।’

रातो मच्छिन्द्रनाथ अर्थात् ‘बुंगद्यः’ सँग जोडिएको एउटा परम्परालाई लिएर पाटनको बुंगमती र कीर्तिपुरको प्यंगथाँबीच करिब पाँच महिनादेखि विवाद थियो । यो विवाद कसरी उत्पन्न भएको थियो भन्नेबारेमा रातो मच्छिन्द्रनाथसँग जोडिएको एउटा कथा छ । कथामा कीर्तिपुर, प्यंगथाँकी एक कन्या केटीको प्रसंग छ । कीर्तिपुरवासी ती कन्या केटीलाई मच्छिन्द्रनाथकी ‘प्रेमिका’ मान्छन् र याकः मिसा (एक्ली केटी) का रूपमा पूजा गर्छन् ।

याकः मिसा कसैगरी पनि मच्छिन्द्रनाथबाट अलग हुन चाहँदिनन् । उनी मच्छिन्द्रनाथलाई आफूसँगै प्यंगथाँमा राख्न चाहन्छिन् । तर लोकले मानेका लोकेश्वरको निम्ति यो सम्भव हुँदैन । याकः मिसाले ‘मलाई छाडेर नजानू देव’ भन्दै लाख बिन्ती गर्दा पनि उनी हरेक वर्ष भेट्न आउने बाचा गर्दै बुंगमती फर्कन्छन् ।

आज पनि मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेर प्यंगथाँ आउने र याकः मिसालाई फूल–प्रसाद चढाउने परम्परा छ । प्यंगथाँकी ७२ वर्षीया लक्ष्मीकुमारी महर्जनलाई ‘जीवित देवी’ याकः मिसाका रूपमा पूजा गरिन्छ ।

प्यंगथाँ बहालमा एउटा मन्दिर छ, जहाँ केही समयअघिसम्म एउटा ठूलो ढुंगा र ढुंगाको सामुन्ने तीनवटा मण्डपबाहेक अरू थिएन । फूल–प्रसाद चढाउँदा मूलपुजारी ढुंगामाथि बस्ने र याकः मिसा मण्डपमा बस्ने परम्परा छ ।

जब प्यंगथाँवासीले गत मंसिर १५ गते त्यही परिसरमा संरचना निर्माण गरेर मच्छिन्द्रनाथको पूर्ण कदको प्रतिमूर्ति र याकः मिसाको सानो मूर्ति स्थापना गरे पछि विवाद सुरू भयो । अहिलेसम्म किम्बदन्तीमा सीमित पात्रलाई जीवन्त रूप दिँदै रातो मच्छिन्द्रनाथ र कीर्तिपुरको सम्बन्धबारे सबैलाई सूचित गराउन यी मूर्ति स्थापना गरिएको प्यंगथाँका स्थानीय बताउँछन् ।

उनीहरूले विगत पाँच महिनादेखि त्यो मूर्तिको पूजापाठसमेत गर्दै आएका थिए । रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने ३२ जना पुजारीहरूको संगठन ‘श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघ’ ले भने कुनै हालतमा मूर्ति राख्न नदिने अडान लिएको थियो । मूर्ति स्थापनाले याकः मिसासँग जोडिएको संस्कृतिको औचित्य नै समाप्त हुने भन्दै पुजारीहरूले मूर्ति नहटाए  मच्छिन्द्रनाथको जात्रामा फूल–प्रसाद लिएर नआउने चेतावनी दिएका थिए ।

रातो मच्छिन्द्रनाथसँगको यो विवाद समाप्त भएसँगै पानेजु संघले शुक्रबार जेठ ५ गते बिहान ९ बजेतिर कीर्तिपुरको प्यंगथाँमा पुगेर याकः मिसालाई फूल प्रसाद प्रदान गरेका थिए । यो सँगै आउँदा दिनमा परम्पराले निरन्तरता पाउने भएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top