एजेन्सी । चीन आफ्नो घट्दो जन्मदरका कारण अहिले निकै चिन्तित छ । सरकारका राजनीतिक सल्लाहकारहरूले जन्मदर बढाउन विभिन्न सिफारिस गरेका छन् । चीनमा जन्मदर बढाउनका लागि धेरै योजनाहरु चलिरहेका छन् । जसमा नवविवाहित जोडीलाई एक महिनाको तलब बिदा समावेश गरिएको छ । अब चीनले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी नयाँ योजना ल्याएको छ ।
एनबीसी न्यूजको रिपोर्ट अनुसार चीनका केही कलेजमा प्रेमको खोजी पूरा गर्ने नाममा एक हप्ताको विशेष बिदा दिइएको छ । फ्यान मेई एजुकेशन गु्रपद्वारा सञ्चालित नौ कलेजहरू मध्ये एक मियाङ फ्लाइङ वोकेसनल कलेजले पहिलो पटक मार्च २१ मा वसन्त विश्रामको घोषणा गरेको थियो । जसमा रोमान्सलाई विशेष ध्यान दिइएको छ । त्यसैगरी अन्य कलेजहरुले पनि अप्रिल १४ देखि २० सम्म बिदा दिने निर्णय गरेको छ ।
मियाङ फ्लाइङ भोकेशनल कलेजका डेपुटी डीन लियाङ गुओहुईले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विद्यार्थीहरूले हरियो पानी र हरिया पहाड हेरेर वसन्तको सास फेर्न सक्नेछन् भन्ने मलाई आशा छ । यसले विद्यार्थीहरूको भावनाको विकास मात्र गर्दैन, उनीहरूमा प्रकृतिप्रतिको प्रेम पनि जगाउनेछ । यसका साथसाथै कक्षाकोठामा फर्किँदा उनीहरूको शैक्षिक क्षमतालाई थप समृद्ध बनाउनेछ ।
छुट्टीको समयमा गृहकार्य
तर, यी बिदामा कलेजहरूले विद्यार्थीलाई गृहकार्य पनि दिएका छन् । बिदाको समयमा विद्यार्थीले आफ्नो अनुभव र काम डायरीमा लेख्नुपर्ने निर्देशन दिइएको छ । व्यक्तिगत वृद्धि विकास गर्ने र यात्रामा भिडियोहरू बनाउने पनि समावेश छ । प्रतिवेदनका अनुसार सरकारको निर्देशनमा कलेज प्रशासनको यस्तो प्रयास जन्मदर बढाउने उपाय खोजेर प्रेरित भएको हो ।