अब नेपालमा बनेका यात्री सवारीले दर्ता गर्न पाउने

0

अब नेपालमा बनेका यात्री सवारीले दर्ता गर्न पाउने


काठमाडौं । अब नेपालमा उत्पादन हुने कुनै पनि सवारी साधनको पनि दर्ता हुने भएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो । नेपालमा बनेको यात्री सवारीले प्रशासनिक झमेला देखाएर दर्ता गर्न नमिल्ने भनेपनि यसलाई लिएर सामाजिक संञ्जाल लगायत चौतर्फी विरोध भएको थियो । यसले नेपालमा निर्माण हुने कुनै पनि सामग्रीले प्रोत्साहन नपाउँदा विदेश पलायन हुने स्थिति देखिएपछि सबैतिरबाट बिरोध भएको थियो । 

यो स्थितिको अन्त्य गर्दै विभागले एक सूचना जारी गरेर कार्यविधि निर्देशिकामा नयाँ बुँदा  ‘११.१.९’ थप गरेको जानकारी दिएको छ । सो बुँदामा लेखिएको छ, ’’यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।’’

त्यस्तै नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।  

विद्युतीय बाइक निर्माण कम्पनी यात्री मोटरसाइकल्सले बिक्री गरेको बाइक दर्ता नभई नम्बर प्लेट नपाउने समस्या आएपछि नेपालमा नै बनेको सवारी दर्ताको विषयलाई लिएर धेरै आलोचना भएको थियो । यात्रीका बाइक दर्ता नभएपछि कम्पनीले विगत आठ महिनादेखि उत्पादन बन्द गरेको थियो । गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले मुख्य सचिवमार्फत यात्रीलगायतका स्वदेशी सवारी साधन दर्ता गर्ने सन्दर्भमा रहेको विद्यमान समस्या समाधान गर्न कानून तर्जुमाको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top