भक्तपुर । मध्यपुर थिमिमा चैत्र २५ गते शनिवार उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । विगत वर्षहरुमा ओस्ला नेपालले आयोजना गर्दै आएको सो धिमे बाजा प्रतियोगिता यसबर्ष भने स्वयं नगरपालिकाले श्री ३ बिष्णुवीर भजन खलःसँगको सहकार्यमा आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा उपत्यकाका ३२ वटा धिमे खलः, पुचःहरु सहभागी हुने अपेक्षा गरिएको प्रतियोगिता आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । “मध्यपुर थिमिको बिस्काः जात्रामा विभिन्न देवी देवताका २१ खटको जात्रा हुने गर्दछ ।
प्रतियोगितामा ३० वटा खलः तथा पुचःले नाम दर्ता गरिसकेको जानकारी दिएको छ । साथै सो प्रतियोगितामा भाग लिन ईमेलबाट पनि दर्ता गर्न सकिने व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।
प्रतियोगितामा उपत्यकाका भक्तपुर, चाँगुनारायण, बालाजु, ठेचो, गोकर्ण, धर्मस्थली, बज्रबाराही, किर्तिपुरलगायतका स्थानका धिमे खलः तथा पुचःले नाम दर्ता गरिसकेको र एउटा खलः वा पुचःबाट बढीमा दुईपटा टोलीले सहभागिता जनाउन सक्ने छ । एउटा टोलीमा धिमे २, भुस्या २ र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच जना बाद्यबाधकको सहभागिता हुनेछ । प्रत्येक सहभागी टोलीलाई पाँच मिनेटको समय दिईने र सहभागी टोलीले पाँच मिनेटको समयावढीभित्र प्रस्तुती टुंग्याउनु पर्नेछ ।
प्रतियोगितामा ४ जनाको निर्णायक टोली रहनेछ । निर्णायक मण्डलले प्रस्तोता टोलीको अनुशासन, समयको परिपालना, भेषभुषा, रचनाको छनोट, एक आपसमा तालमेल, प्रष्टता, बोल, ताल र लय हाउभाउको आधारमा अंक प्रदान गर्नेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार स्वरुप नगद ५ हजार, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनको लागि नगरपालिकाले ५ लाख रुपैंया दिने र नपुग रकम आयोजक समिति र अन्य ईच्छुक दाताबाट आउने सहयोगले परिपूर्ति गरिने जानकारी दिउको छ । प्रतियोगिताका लागि विगतमा जस्तो आर्थिक सहयोग संकलनका लागि कुनै संघ संस्थासँग अनुरोध नगर्ने तर स्वईच्छाले दिन आए लिने नीति बनाएका र प्रतियोगितालाई सफल बनाउन मूल आयोजक समिति, प्रचार प्रसार, अतिथि सत्कार, मञ्च व्यवस्थापनलगायतका विभिन्न समिति उपसमिति गठन गरिएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा धिमे बाजा प्रतियोगिताको अवसरमा श्री श्री श्री विष्णुवीर नित्य आरती भजन खलःद्धारा सिर्जना गरिएको ऐतिहासिक भजन गीत जात्राया मालिक छलपोल वीर विष्णुवीरको श्रव्यदृष्य चलचिलत्र पनि विमोचन गरिने जानकारी दिएको छ ।