भक्तपुर । मध्यपुर थिमिको बोदेमा मनाईने ऐतिहासिक प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लागेका २७ वर्षिय सुजन बाग श्रेष्ठले पेदाँ (चार दाम) चढाएर जिब्रो छेड्ने पक्का गरेका छन् ।
परम्परा अनुसार जिब्रो छेड्ने व्यक्तिले जात्राको चार दिन अगाडि नगरको पमालाई दाम चढाएर जिब्रो छेड्ने पक्का गर्नुपर्दछ । सोही कार्य सम्पन्न गर्न सुजनले सगुन लिएर पमा नाईके जगतकृष्ण पिला श्रेष्ठको घरमा पुगेर दाम चढाएको हो ।
उनले पमा नाईके जगतकृष्ण पिला श्रेष्ठ, पमा माईला भासिंक, कर्मी नाईके कृष्णचन्द्र बाग श्रेष्ठ र नाय्खी बाजाका नाईके बुद्धि बहादुर खड्गीलाई चार दाम चढाएको हो । सो अवसरमा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडा नं. ८ का वडाअध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
मध्यपुर थिमिस्थित बोदेमा बिस्का जात्राको अवसरमा बैशाख २ गते जिब्रो छेड्ने परम्परा रहेको छ । जिब्रो छेड्ने व्यक्तिले पमा नाईकेहरुलाई दाम चढाएपछि परम्परा अनुसार यसको विधि विधानमा रहनु पर्दछ । सोही अनुसार सुजनले तीन दिनसम्म खाना खान नहुने, पशुपन्छी र महिलालाई छुन नहुने परम्परा निर्वाह गर्नुपर्दछ । विधि विधान उलंघन भएमा जिब्रोे छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास रहेको पाइन्छ ।
मिथक अनुसार प्राचीनकालमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङकालले बोदेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्या अनुसार पासो राखिदिए । उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरे । त्यसपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि नगर भित्र पस्न खोजे । बोदेमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको प्रवेशद्वारबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा प¥यो । भीमदत्तले लामो कपाल, लामो जिब्रोे, डरलाग्दो पिचास नीलबाराहीको दाहिने द्वारपाल भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए ।
पिशाचको जिब्रोे छेडी बलेको महादीप बोकाएर बोदे नगर घुमाए । कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोदेमा कसैलाई दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोदेवासीले भनेझै विभिन्न सातवटा वाचा गराई छाडिदिएको मिथक छ । मिथक अनुसार एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रोे छेड्नु अगाडि पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ । वाचा अनुसार सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि भीमदत्त कर्माचार्यले सोही अनुरुप बोदेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको मिथक छ ।