मध्यपुर थिमिको ऐतिहांसिक भैलः प्याखं मध्यपुर थिमिको ईतिहास बोकेको एक प्रसिद्ध र तान्त्रिक महत्वको नाच हो । तान्त्रिक विधिबाट नचाईने यस नाचमा दुईजना भैरब, दुई जना कुमारी अर्थात दागीं र एक ज्यापुंगचा रहने गर्दछ । ऐतिहासिक एवं तान्त्रिक भैरव नाच भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि पञ्चमीसम्म सञ्चालन हुने गर्दछ । भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगचाले ज्यापूँग अर्थात कपासको बिंया, अक्षता, ताय् भएको भाँडो, हातमा लिएर विभिन्न तालमा हाउँभाउँ सहित नाच्ने परम्परा रहेको छ ।
४५ बर्ष सम्म सञ्चालनमा आउन नसकेको लाय्कू भैलः नाच स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि सञ्चालनमा आएको थियो । यो नाच सरकारको तर्फबाट लाय्कू अर्थात दरबारले संचालन गर्ने भएकोले लाय्कू भैलः भनिएको मानिन्छ ।
मध्यपुर थिमिमा श्रेष्ठ समुदाय र प्रजापति समुदायबाट प्रत्येक बर्ष पालै पालो भैल नाचको आयोजना गर्ने प्रचलन रहेको छ । यसरी सर्वसाधारणबाट भैल नाचको आयोजना हुन नसकेको अवस्थामा राज्यको खर्चमा दरबारबाट लाय्कू भैल नाच सिकाएर प्रदर्शन गरिने परम्परा रहेको हाम्रा अजाअजीहरुको भनाइ रहेको छ । यसबाट मध्यपुर थिमिमा भैल प्याखँले निरन्तरता पाइरहेको थियो । तर समय क्रमसँगै आर्थिक भार र राज्यले सबै अल्पसंख्यक जाती, भाषा र संस्कृतिको पहिचानलाई सामान्यकृत गरिएको छ । वर्चश्वशाली भाषा र संस्कृतिको अधिनस्तमा परेर यहाँको भाषा, संस्कृती, सभ्यता र इतिहास आज उपेक्षित र सिमान्तकृत छ । आफ्नो मौलिक पहिचान स्थापनार्थ आज पनि आन्दोलित हुनु परिरहेको छ । आफ्नो मौलिक पहिचान गुमाईरहेका छन् । वर्तमान नेपालको राज्यसंयन्त्रबाट सिमान्तकृत हुनु परेको कारण उस प्रकारको मौलिक नाच लोप हुने क्रममा पुगेको हो । यस्ता अमूर्त कलाहरु आज हाम्रा लागि दन्त्य कगामा परिणत भइसकेका छन् भने केही सीमित संस्कृति हाम्रो सामू जीवित छन् ।
नाचको क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने गरीन्छ ।
ठूलो धनराशी र तयारी आवश्यक रहने हुंदा यो नाच आयोजना गर्न सजिलो नभएको जानुकारहरु बताउँछन । तर पनि पछिल्लो समय युवा पुस्ता पुर्खाले सुम्पेको यो ऐतिहासिक नाच आयोजना गर्न उत्साहित हुने गरेका छन ।