कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सुत्रात्मक रुपमा बुनेका छन् । कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन् । पुस्तकको केन्द्रियपात्र डा.शर्माको भोगाई तथा अनुभवले उपन्यास निकै बाँधिएको छ ।
हामीले भोगेका निरङ्कुश तन्त्र, प्रजातन्त्र, लोकतन्त्र आदिले जसरी हामीमाथि निर्मम शाशन गरे, त्यसैगरी आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शाशन गर्यो भन्ने बिम्बलाई पुस्तकमा सुललित रुपमा लेखिएको छ । इन्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजको रुपमा रहने विश्वास गरिएको छ ।
महामारीको यो अत्यासलाग्दो विभिषिकालाई शब्दमा संगठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास हो– कोरोनातन्त्र । लघुकथाका थुँगाहरुलाई पृथक आयामबाट एउटै सूत्रमा उनेर बनाइएको माला जस्तो भएकाले यसलाई सूत्रउपन्यास भन्नु वाञ्छनीय हुन्छ । यो उपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी पुस्ताको लागि महामारीको गतिलो इतिहास हुनेछ ।