काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘प्रेमा’ले राजधानीमा बुधबार
साँझ ग्राण्ड प्रिमियर गरेको छ । प्रिमियरपछि फिल्मकर्मीले फिल्मप्रति
उत्साहजनक प्रतिक्रिया दिएका छन् ।
फिल्म ‘महापुरुष’की डेब्यू
अभिनेत्री अञ्जना बराइलीले फिल्म आफूलाई राम्रो लागेको बताइन् । उनले
फिल्मको प्रमुख तीन कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि
श्रेष्ठको अभिनय मनपरेको जनाइन् । ‘नेपालमा पनि प्रेमकथाका फिल्म बन्छन् ।
प्रेमाको प्रेमकथा यहाँको कथा र प्रस्तुतीकरण भन्दा फरक लाग्यो’, उनले
भनिन् ।
अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक
फिल्म हेर्न पाएको खुलाए । ‘शुभेच्क्षा मेरो मनपर्ने कलाकार हो । उहाँको
अभिनय अब्बल छ । अहिलेको युवापुस्ताको प्रेमसँग फिल्मको कथा कहिँ कतै
जोडिन्छ’, उनले भने । अभिनेत्री सन्ध्या केसीले फिल्मले आम दर्शकलाई
मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको बताइन् । ‘फिल्मका प्रमुख तीन कलाकारको
अभिनय राम्रो छ । फिल्मले दर्शकलाई बाँधेर राख्छ’, सन्ध्याले भनिन् ।
फिल्मका
अभिनेता अरुण क्षेत्रीले आफू हिजोसम्म ‘न्यूट्रल’ रहे पनि प्रिमियरपछि
प्राप्त प्रतिक्रियाबाट ढुक्क रहेको बताए । ‘हिजोसम्म म न्यूट्रल अवस्थामा
थिएँ । किनकी फिल्म बाहिर आइसकेको थिएन । तर आज प्रिमियरमा प्राप्त
प्रतिक्रियाले म उत्साहित छु’, अरुणले भने ।
अभिनेत्री शुभेच्क्षा
खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताइन् । ‘म अत्यन्त खुशी
छु । मेरो मेहनतलाई सबैले स्वीकारिदिनुभएको छ । मेरो भूमिकाले तारिफ पाउँदा
आभारी छु’, शुभेच्क्षाले भनिन् । निर्देशक गोविन्द सिंह भण्डारीले
फिल्म हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग कनेक्ट गरेको बताए । ‘मेरो कथा र
निर्देशनप्रति दर्शकहरु सहमत हुनुहुन्छ भन्नेमा प्रिमियरपछि प्राप्त
प्रतिक्रियाले म ढुक्क भएँ’, उनले भने ।
निर्माता विवेक घिमिरेले
फिल्मको टिमले राम्रो काम गरेको छ भन्नेमा आफू ढुक्क रहेकोमा प्रिमियरपछि
प्राप्त प्रतिक्रियाले थप ढुक्क भएको खुलाए । ‘मैले स्क्रिप्ट पढ्दा खेरी
नै फिल्ममा लगानी गर्न मन लागेको थियो । आजको प्रिमियरपछिको प्रतिक्रियाले
मेरो लगानी खेर नजानेमा म आशावादी छु’, उनले भने ।
निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो । फिल्ममा
अरुण, सुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी,
सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल,
भिभियाना थपलिया(काजु)को अभिनय छ । फिल्मको कार्यकारी निर्माता
सामर्थविक्रम थापा हुन् ।