पहिलो पटक जापानबाट १४ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै

0

पहिलो पटक जापानबाट १४ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै

भक्तपुर । चैत्र १७ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमध्ये २ लाख ६० हजार ६ सय ७४ जना छात्र र २ लाख ५५ हजार ९ सय १७ जना छात्राले यस वर्षको एसईई परीक्षा दिँदै छन् ।

बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शुक्रबारदेखि सुरु हुने परीक्षाको सबै तयारी पूरा भइसकेको बताए । उनले एसईई परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरूमा पठाइसकिएको जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष पहिलो पटक जापानबाट १४ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले पहिलोपटक जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थी यसपालिको एसईई परीक्षामा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए । उनले अहिलेसम्म तोकिएका सबै परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण भई परीक्षासम्बन्धी पूर्वतयारीको सम्पूर्ण कामसमेत सकिएको बताए ।

शुक्रबार बिहान ८ बजेदेखि सञ्चालन हुने सो परीक्षा आगामी २९ चैतसम्म चल्नेछ । यसपालिको एसईई परीक्षाका लागि ७७ वटा जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बाग्मती प्रदेशमा रहेका छन् । बाग्मती प्रदेशका १ लाख १ हजार ७ सय ३३ परीक्षार्थीका लागि ४ सय ३४ वटा परीक्षा केन्द्र तोकिएको छ ।

बोर्डका अनुसार यसपालिको एसईई परीक्षामा सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा जम्मा ४१ हजार ३ सय २९ परीक्षार्थी र १ सय ७९ परीक्षा केन्द्र रहेका छन् ।

यसपालिको परीक्षा विगतका वर्षहरूको भन्दा अझै व्यवस्थित र मर्यादित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top