भक्तपुरका ठुला भनिएका नीजि अस्पतालमै अनियमितता

0

भक्तपुरका ठुला भनिएका नीजि अस्पतालमै अनियमितता

भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा जिल्लामा ठुला भनिने नीजि अस्पतालमा अनियमितता भेटिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा नेतृत्वको टोलीले अनगुमनमा क्रममा अस्पतालको फार्मेसीहरुले नियम विपरित चर्को मुल्य लिएर अनियमितता गरेको भेटिएको हो । टोलीले अरनिको हायवेसँगै रहेका मध्यपुर अस्पताल, भक्तपुर ईन्टरनेसनल अस्पताल, नागरिक सामुदायिक अस्पताल र समिट अस्पतालमा अनुगमन गरेको थियो ।

उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा गरिएको अनुगमनका क्रममा कौशलटारमा रहेको भक्तपुर इन्टरनेशनल अस्पताल बाहेक थिमिको मध्यपुर अस्पताल, गठ्ठाघरको नागरिक सामुदायिक अस्पताल, र लोहकिल्थलीस्थित समिट अस्पतालको फार्मेसीले चर्को नाफा लिएको भेटिएको हो ।

ती अस्पतालका फार्मेसीले नियमानुसार लिन पाउने नाफाको अतिरिक्त खरिद मूल्यमा ३० देखि ११० प्रतिशत सम्म बढी मूल्य राखेर बिक्री गरिरहेको पाइएको छ । औषधीमा भन्दा सर्जिकल सामग्री बढी मूल्यमा बेचिने गरिएको पनि अनुगमन पाइएको जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेश कुमार दाहालले दिएको जानकारी अनुसार फार्मेसी सञ्चालकले खरिद मूल्यमा सोह्र प्रतिशत भन्दा बढी नाफा राखी बिक्री गर्न नपाइने व्यवस्था गरिए पनि २० प्रतिशतसम्म नाफा लिन छुट भएतापनि अतिरिक्त ११० प्रतिशतसम्म बढी असुल गर्नु कानुन बिपरित रहेको बताए ।

अस्पतालका फार्मेसीहरुले लागू औषधको रुपमा प्रयोग हुन सक्ने औषधीलाई छुट्याएर नराखेको, प्रेसक्रिप्सन विना नागरिक अस्पतालले यस्ता औषधी बिक्रीवितरण गरेको पाइएको उद्योग बाणिज्य संघका सचिव एवं समितिका सदस्य विश्वभक्त दुवालले जानकारी दिए । अनुगमनका क्रममा समिट अस्पतालले म्याद नाघेका औषधी पनि सँगै राखेको पाइएको थियो भने औषधी राखेको फ्रिजमा तरकारी पनि राखेको पाईएको थियो । औषधीमा तरकारी मिसाएर राख्नु गम्भीर लापरवाही भएको स्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत दिपक अछामीले जानकारी दिए ।

अनुगमन समितिका संयोजक एवं सहायक सिडिओ माधव प्रसाद शर्मा घिमिरेले हाइवेका अस्पतालले संचालन गरेका फार्मेसीमा बढी मुल्य राखिएका र केही प्राविधिक कमजोरी देखिएका पुष्टि गरेका छन् । उनीहरुलाई फार्मेसी संचालनको अनुमती पत्र लगायत कागजपत्र लिएर ३ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन् निर्देशन दिइएको सहायक सिडिओ शर्माले जानकारी दिए । उनीहरुलाई प्रचलित कानुन अनुसार कारवाही हुने उनको भनाइ छ ।

अनुगमनमा मध्यपुर थिमि नगरपालिकाका स्वास्थ्य शाखाका अधिकारीहरु समेत सम्मिलित रहेका थिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top